गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका चिकित्सक भोजराज अधिकारी नियमित सेवामा फर्किएका छन् । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र) ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उनी निर्वाचनमा होमिएका थिए ।
भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका थिए । अस्पतालको अध्यक्ष बनेपछि त्यहाँको फिजिसियन पदबाट राजीनामा दिएका अधिकारीले यसअघि पुष्पाञ्जलि अस्पतालमा नियमित बिरामी जाँच गर्दै आएका थिए ।
‘अब म नियमित काममा फर्किएको छु,’ अधिकारीले भने । स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहने उनको योजना छ । निर्वाचनका समयमा आफ्नो प्रतिबद्धतापत्रमा समेटिएको जनतासँग अस्पताल कार्यक्रमलाई पराजित भए पनि निरन्तरता दिने अधिकारीले बताए ।
गाउँगाउँमा गएर उपचार नपाएकालाई अस्पतालसँग जोड्ने, नियमित स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य जनचेतना जगाउनेलगायतका कार्य गर्ने योजना डा. अधिकारीको भनाइ छ । ‘विशेषज्ञसहितको स्वास्थ्य शिविर, रोग पत्ता लागेकालाई अस्पताल जोड्ने, समाजमा दीर्घरोगीको खोजीका लागि परीक्षण गर्ने योजनामा छु,’ उनले भने ।
उनले मधुमेह, उच्च रक्तचापलगायतका रोगको पहिचान अभियानका रूपमा गराउने बताए । ‘क्यान्सर, मुटुरोग स्क्रिनिङ गर्ने, सरकारले निःशुल्क गरेका रोगको उपचार र औषधिका बारेमा जानकारी गराउने काम अभियानमा हुन्छ,’ अधिकारीले भने ।
पिउने पानी, स्वच्छ वातावरणलगायतका बारेमा जनचेतना जगाउँदै धूमपान र मद्यपानविरोधी अभियान सञ्चालन गर्ने उनले भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।