काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत सोमबार भएको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको छ ।
महेन्द्रनगरका लागि अन्तिम ओभरमा १२ रन आवश्यक थियो । क्रिजमा मोहम्मद नाभेद र अमर रौतेला थिए । अन्तिम ओभर लिएर कृष्ण कार्की बलिङ गर्न आए । व्यक्तिगत दोस्रो ओभर बलिङ गरिरहेका कार्कीले पहिलो बलमै नाभेदलाई आउट गरे । त्यसपछि संकटमा परेको महेन्द्रनगरले ९ रनभन्दा जोड्न सकेन र खेल रुपन्देहीलाई सुम्पियो ।
टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रन बनाएको थियो । १ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको महेन्द्रनगरका ब्याट्समेन नटिक्दा लक्ष्य पूरा गर्न सकेन ।
महेन्द्रनगरका लागि सुवरमनियन आनन्दले २५, रोहितकुमार पौडेलले २४ तथा मोहम्मद नाभेदले १२ रन बनाउनुबाहेक हन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन् । महेन्द्रनगरलाई सस्तैमा समेट्ने क्रममा रुपन्देहीका विक्रम शोवले तीन विकेट लिए । यस्तै, पुनित मेहेराले २ तथा ललितसिंह राजवंशी, कृष्ण कार्की र वसन्त रेग्मीले समान १ विकेट लिए ।
यसअघि, खराब सुरुवात गरेको रुपन्देहीले मध्यक्रमका ब्याट्समेनको सहयोगमा सामान्य लक्ष्य बनायो । च्यालेन्जर्सका लागि सुमित महर्जनले सर्वाधिक २७ रन जोडे भने विनोद भण्डारी १९, सन्दीप सुनार १५ तथा बाबर हायातले १४ रन जोडे । यस्तै, विक्रम शोव १६ रनमा नटआउट रहे ।
च्यालेन्जर्सलाई अलआउट गर्ने क्रममा सिद्धान्त लोहनीले ३ विकेट लिए । यस्तै, सागर ढकाल र अभिनाश बोहोराले समान २ विकेट लिँदा शरद भेषवाकरले १ विकेट लिए ।
डिपिएलअन्तर्गत मंगलबार पनि दुई खेल हुँदै छन् । पहिलो खेल सिवाइसी अत्तरिया र धनगढी स्टार्सबीच बिहान ९ बजे सुरु हुनेछ भने दोस्रो खेल विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्सबीच दिउँसो १ बजे फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।