विरोध खतिवडा : चार पटक सूर्यले जितायो, कलम रोज्दा सूर्यले नै हरायो
फाइल तस्बिर

मकवानपुरको राजनीतिमा प्रत्येक निर्वाचनमा विजयी भइरहने नेताको नाम हो विरोध खतिवडा । ०७४ साल अघिका निर्वाचनहरूमा नेकपा एमालेका उम्मेदवार खतिवडा अत्यधिक मत ल्याएर विजयी भइरहेका थिए । तर मंसिर ४ को निर्वाचनमा उनी पाँचौँ पटमा पराजित भएका छन् । 

चार पटकसम्म एमालेको सूर्य चिन्हले जितिरहेका उनलाई यस पटक भने कलमले साथ दिएन । सत्ता गठबन्धनबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र २ बाट उम्मेदवार बनेका उनलाई गठबन्धनकै मत कम आयो । अन्ततः उनलाई सूर्य चिन्हले नै पराजित गरिदियो । एकीकृत समाजवादीका नेता तथा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका खतिवडा पराजित भएसँगै उनको संसदीय यात्रामा तगारो लागेको छ । 

खतिवडा नेकपा एमालेका महेश कुमार बर्तौलासँग फराकिलो मतान्तरले पराजित भएका हुन् । क्षेत्र नम्बर २ मा खसेको ८६ हजार ६ सय ५२ मतमा बर्तौलाले ३४ हजार ९ सय १६ मत प्राप्त गर्दै विजयी भएका हुन् । खतिवडाले ३० हजार ३ सय ९६ मत प्राप्त गरेका छन् । बर्तौला र खतिवडाको ४ हजार ५ सय २१ मतान्तरको फरक परेको छ । 

फापेन कलम
संसद विगठन भएसँगै माधव नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीमा समाहित भएका खतिवडालाई निर्वाचनमा कलम चुनाव चिन्ह भने फापेन । तत्कालीन नेकपा एमालेमा रहँदा ४ पटकसम्म सूर्य चिन्हले सांसद बनिसकेका खतिवडालाई पार्टी परिवर्तन पछिको पहिलो निर्वाचनले झड्का लगाइदिएको छ । 

पाँच दलीय गठबन्धन हुँदा पनि एक्लै निर्वाचनमा होमिएको एमालेसँग पराजयको सामना गर्नपर्ने उनको एक प्रकारको 'व्याडलक' पनि हो । सूर्यले सधैँ जिताइरहेको उनलाई कलम नफापेको हो कि भन्ने चर्चा छ । 

सूर्य त्याग्दा सूर्यसँगै पराजय
संसद विगठन हुनु अघि नेकपा एमालेको सूर्य चिन्हबाट प्रत्येक निर्वाचनमा विजयी भइरहेका खतिवडा यस पटको संघीय निर्वाचनमा सूर्य चिन्हबाटै पराजित हुन परेको छ । संसद विगठन पनि माधव नेपाल पक्षको नेकपा एकीकृत समाजवादीमा समाहित भएका थिए । हालै सम्पन्न निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बनेका उनलाई गठबन्धनकै मतदाताको पनि मत नआएकै कारण पराजय हुन परेको प्रक्षेपण पनि सुरु भएको छ । 



खतिवडालाई भारी मतान्तरले पराजित गर्ने बर्तौला विरोधले नै राजनीति सिकाएका चेला हुन् । विद्यार्थी काल देखि नै खतिवडासँग राजनीतिमा प्रवेश गरेका बर्तौलाले उनकै गुरुलाई पराजित गरेका हुन् । 

संसदको यात्रामा ब्रेक 
पटक पटक विजयी भएर सांसद देखि मन्त्री सम्म बनिसकेका खतिवडाको सांसद यात्रा रोकिएको छ । सधैँ जितिरहने हेभीवेट उम्मेदवारले आफ्नो साख जोगाउन सफल नभएको विषयले चर्चा पाइरहेको छ । 



मकवानपुर क्षेत्र नम्बर २ का हेभीवेट नेता पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा कहिल्यै पराजित नहुने नेताको नामले जिल्लामा स्थापित नाम हुन् । नेकपा एमालेका नेताको रूपमा परिचित खतिवडालाई आगामी निर्वाचनमा आफ्नो साख जोगाउन मुस्किल पर्नुको एउटा कारण हो, पार्टी परिवर्तन । खतिवडा ५ पुस २०७७ मा संसद विगठन भएपछि नेकपा एमाले छोडेर एकीकृत समाजवादीमा लागेका थिए । 

४ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका खतिवडाको पाँचौँ उम्मेदवारी सहितको यात्रामा ब्रेक लागेको हो । २०४८, २०५१ र २०५६ र २०७४ को निर्वाचनमा मकवानपुर–२ बाट निर्वाचित भएका थिए । तत्कालीन नेकपा एमालेका बलियो नेताको रूपमा लगातार उम्मेदवार बनिरहेका उनलाई जनताको साथ पनि उत्तिकै मिलेको थियो ।

खतिवडा २०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट जितेका थिए । सो निर्वाचनमा खतिवडाले १६ हजार ८६९ मत ल्याएर नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ लाई पराजित गरेका थिए । त्यस्तै, २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी १६ हजार १ सय ४४ मत पाएर निर्वाचित भए । उनीसँग राप्रपाका कमल थापा, कांग्रेसकी डिना र स्वतन्त्र उम्मेदवार विश्वराज उप्रेती प्रतिस्पर्धामा थिए । 

खतिवडाको निकटतम प्रतिद्वन्द्वी राप्रपाका थापाले ११ हजार ८ सय ७८ मत पाउँदा कांग्रेसकी डिनाले ३ हजार ७९२ र स्वतन्त्र उम्मेदवार उप्रेतीले ४ हजार ८६६ मत पाएका थिए । २०५६ मा भएको आम निर्वाचनमा खतिवडा मकवानपुर–२ बाटै उम्मेदवार बनेका थिए । सो निर्वाचनमा खतिवडाले राप्रपाका दीपक सिंहलाई हराउँदै १८ हजार २ सय ८१ मतसहित चुनाव जित्दा राप्रपाका सिंहले १५ हजार ९ सय १ मत प्राप्त गरेर पराजित हुन परेको थियो । 

त्यसपछि २०७४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा पनि मकवानपुरको क्षेत्र नम्बर  बाट नै खतिवडाको उम्मेदवारी रह्यो । लगातार तीन पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्य बनेका उनको २०७४ को निर्वाचनमा पनि उम्मेदवारी दिने मौका पाए । 

सो निर्वाचनमा पनि मकवानपुर क्षेत्र– २ का लागि  एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार बनका उनले चौथो पटक पनि सफलता हात पारे । उनी ४६ हजार ४ सय ८१ मतका साथ निर्वाचित भएका थिए । गत वर्ष मात्रै खतिवडाले ३० वर्षपछि मन्त्री बन्ने अवसर पाए । कोरोना महामारी चलिरहेको चुनौतीपूर्ण स्थितिमा खतिवडाले ८ महिना स्वास्थ्य मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी समेत सम्हालिसकेका थिए । यो निर्वाचनमा २० हजार मतान्तरले विजयी हुन्छु भन्ने अभिव्यक्ति दिँदै आएका खतिवडाको बाधक उनकै चेला एमालेका बर्तौलासँग झण्डै ५ हजार मतान्तरको हाराहारीमा पराजित हुन परेको हो ।  

  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार १६:३७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया