कैलालीमा अफ्रिकन स्वाइन फिभरबाट पाँच सय बंगुर सोत्तर

कैलालीको भजनी नगरपालिका–३ मा ०७५ सालमा स्थापना भएको बडिमालिका कृषि प्रवर्द्धन केन्द्र फार्म रित्तो भएको छ । फार्मको सात कठ्ठा जमिनमध्ये दुई कठ्ठा जमिनमा आधुनिक बंगुर फार्म निर्माण भएको छ । फार्मका सञ्चालक जयबहादुर बुढाका अनुसार अफ्रिकन स्वाइन फिभर संक्रमणले सानाठूला गरी पाँच सय बंगुर सोत्तर पारेको छ ।
 
‘यस पटक चार सय ८२ बंगुर पालेको थिए’ पत्रकार समेत रहेका किसान बुढाले भने, । ‘चार सय १२ वटा रोगले मरे, बाँकी रहेका ७० वटा मारेर गाड्यौं ।’

असोजको पहिलो सातातिर फाटफुट रुपमा बंगुर मर्न थालेका हुन् । उनले भने, ‘त्यतिवेला खासै ध्यान दिइएन । कार्तिक सुरु भएपछि बंगुरको मृत्यु दरमा एकाएक बृद्धि भयो । मरेको बंगुरको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीमा पोष्टमार्टम र नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर भएको पुष्टि भयो । अनि, पशुचिकित्सक तथा विज्ञहरूको सल्लाहबमोजिम जिउँदा बंगुर मारेर खाल्डोमा पुर्यौं ।’ 

अहिले उनको बंगुर रित्तो छ । फार्म सिल गरिएको छ । भाइरस संक्रमण पूर्ण रुपमा समाप्त पार्न पटकपटक निर्मलीकरण गर्नुपर्ने र कम्तिमा छ महिना खोर बन्द गर्नुपर्ने उनले बताए । उनले भने, ‘खोरको छत आदि पनि फेर्नु पर्दो रहेछ । त्यसपछि पनि करिब एक वर्ष बंगुर हुर्काउने समय चाहिने हुँदा एकोहोरो लगानी मात्रै गर्नुपर्ने हुन्छ । फेरि बंगुर पालन गर्ने सोच त बनाएको छु, तर स्रोतसाधनको कमीका कारण निश्चय गर्न सकेको छैन ।’
 
उनले ६५ लाख रुपैयाँ बैंकबाट ऋण र ३५ लाख रुपैयाँ आफ्नो लगानीबाट सो व्यवसाय शुरु गरेको बताए । ‘राम्रै कारोबार हुन्थ्यो’ उनले भने, ‘गत वर्ष करिब ८१ लाख रुपैयाँको कारोबार गरेको थिएँ । यस वर्ष सबै स्वाहा भयो ।' 

उनले बैंक ऋणको ब्याज र किस्ता गरी मासिक ५० हजार रुपैयाँ बढी बुझाउनु परिराखेको बताए । उनका अनुसार स्वाइन फिभरका कारण उनले ९५ लाख २० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । 

कैलालीको कैलारी र जोशीपुर गाउँपालिका तथा भजनी नगरपालिकामा भदौ, असोजतिर बंगुरमा क्लासिकल स्वाइन फिभरको संक्रमण देखापरेको भए पनि अफ्रिकन स्वाइन फिभर भने पहिलो चोटी देखिएको हो ।

‘सुदूरपश्चिम प्रदेशमै यो (अफ्रिकन स्वाइन फिभर) पहिलो चोटी देखापरेको हो’  पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख, बरिष्ठ पशु चिकित्सक डा. नरेशप्रसाद जोशीले भने । 



‘बडिमालिका कृषि प्रवद्र्धन केन्द्रमा पालिएका बंगुरमा एकाएक मृत्यु दरमा वृद्धि भएको सूचना आएपछि तिहारको अघिल्लो दिन हामीले मरेको एउटा बंगुरको पोष्टमार्टम गर्यौं । नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरको पुष्टि भयो,' जोशीले भने, 'यो निकै खतरनाक भाइरस भएकोले थप पुष्टिका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमुना पठायौं । त्यहाँबाट पनि पुष्टि भएकोले बाँकी रहेका ७० वटा बंगुर मारेर खाल्डोमा पुर्ने काम गरियो ।’ 

कैलाली र कञ्चनपुरमा निकै ठूलो संख्यामा बंगुर पालन हुने गरेको छ । यस वर्ष कैलालीमा मात्रै करिब ७० हजार बंगुर पालन भएको पशु सेवा कार्यालय, धनगढीका प्रमुख डा. हेमराज अवस्थीले बताए । 



विगतमा अफ्रिकी मुलुकहरूमा मात्रै सीमित रहेको यो भाइरस सन् २०१८ मा चिन, भूटान र भारत हुँदै नेपाल प्रवेश गरेको बताइन्छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रमुख डा. जोशीले भने– यो निकै खतरनाक भाइरस हो । सन् २०१८ र १९ मा चिनमा यो सङ्क्रमण फैलिँदा करिब ३० खर्ब रुपैयाँ बढीको क्षति भएको थियो । 

संक्रमित बंगुरको मासु जतिसुकै फ्रिजमा राखे पनि तीन वर्षसम्म भाइरस जीवित हुन्छ । ‘संक्रमित बंगुरबाट मान्छेमा नसर्ने भए पनि मासु वा हाडबाट जंगली बँदेलसहित बंगुर प्रजातिमा सर्ने भएकोले यो भाइरसलाई अन्यत्र फैलिन नदिनु मात्रै रोकथामको उपाय हुन्छ’ उनले भने, ‘अहिलेसम्म यो भाइरसविरुद्ध न त खोप बनेको छ, न रोग लागेपछि उपचार नै सम्भव छ ।’

यसअघि कैलारी तथा जोशीपुर गाउँपालिका र भजनीमा बंगुरमा क्लासिकल स्वाइन फिभर देखापरेपछि बंगुरलाई खोप लगाउने अभियान अघि बढाइएको थियो । कैलारी गाउँपालिकाले मात्रै तिहारसम्म एक हजार बढी बंगुरलाई खोप दिने बताएको थियो । तर, बंगुरको संख्याका आधारमा खोपको परिमाण निकै कम भएकोले खोप अभियान प्रभावकारी हुननसकेको स्वयं पशु सेवा कार्यालयका अधिकारीहरू नै बताउँछन् । 

कैलारी गाउँपालिकाले भने दुई महिनादेखि बंगुरलाई खोप अभियान जारी राखेको जनाएको छ । गाउँपालिकाका पशु चिकित्सक सूर्यप्रसाद चौधरीका अनुसार अहिलेसम्म क्लासिकल स्वाइन फिभरका कारण कैलारीमा ९६ वटा बंगुर मरेका छन् । उनले भने, ‘चुनावपछि मर्ने दर कम भएको छ ।’  

कैलारी गाउँपालिकाले अहिलेसम्म दुई हजार बढी बंगुरलाई खोप लगाइसकेको जनाएको छ ।

  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार १७:५०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया