प्रचण्ड किन ठान्छन् सिराहालाई आफ्नो माइत ?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिराहाको एक कार्यक्रममा आज (सोमबार) सिराहा आउँदा आफूलाई माइत आएको जस्तै लाग्ने गरेको बताए । 

महनौरामा एउटा स्वास्थ्य चौकी उद्घाटन गर्दा प्रचण्डले भनेका थिए, ‘सिराहा आउँदा मलाई एउटा छोरी माइत आएजस्तै लाग्छ, म यहाँ आउँदा माइत नै आएको हुँ ।’ उनले आफू कुनै कालखण्डमा सिराहामा नै सक्रिय भएको पनि स्मरण गरे । 

त्यसो त २०७० सालको संविधानसभा निर्वाचन सिराहाबाट नै उम्मेदवारी दिएका प्रचण्डले त्यहाँ भाषण गर्ने क्रममा आफू मधेशसँगको लभमा परेको बताएका थिए । 

नेपाली संस्कारअनुसार विवाह गरेकी महिला आफ्नो जन्मघर फर्किँदा र बुवाआमासँग भेट्दा पक्कै खुसी हुन्छन् । विवाहपछि जन्मघरलाई माइत भनिने प्रचलनमात्र नभएर यसबारे अनेक कथाहरु नेपाली समाजमा सुन्न पाइन्छ । 

तर, प्रचण्ड चाहिँ सिराहालाई किन आफ्नो माइतीघर मान्छन् त ? 

‘यो खासमा पछिल्ला घटनाक्रमको उपज मात्र होइन,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘त्यहाँबाट चुनाव उठ्नु, त्यहाँका जनताले जिताउनुमात्रै भन्दा पनि पूर्वी मधेशमा कम्युनिस्ट आन्दोलनको उर्वर भूमी सिराहा भएकाले प्रचण्डले यसलाई आफ्नो माइतीजस्तै प्यारो मान्नुहुन्छ ।’



सापकोटाका अनुसार प्रचण्डले सिराहालाई कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भूमिका रुपमा लिन्छन् । २०५२ मा माओवादीले सशस्त्र युद्ध सुरु गर्नुअघि र सुरु गरेलगत्तै पनि प्रचण्डले लामो समय सिराहामा बिताएको र त्यहाँको एफेक्सन भएकाले प्रचण्डलाई सिराहा नजिक लाग्ने सापकोटाको तर्क छ । 

यतिमात्र नभएर मधेश आन्दोलन तथा अधिकार प्राप्तिका लागि सिराहाले सधैं राम्रो सन्देश बोकेको पनि प्रचण्डको निष्कर्ष छ । यसले गर्दा पनि उनी आफूलाई सिराहासँग नजिक पाउने सापकोटाले अनुभूत गरेका छन् ।



‘रामवृक्ष यादव जो सिराहा वरपर नै निकै सक्रिय हुनुहुन्थ्यो,’ सापकोटाले टेलिफोन सम्पर्कमा भने, ‘यादवको हत्या भएको प्रसङ्गदेखि लिएर पूर्वी क्षेत्रमा सिराहाले प्रत्येक आन्दोलनमा पार्ने प्रभाव र त्यसले दिने सन्देशका कारण पनि प्रचण्ड सिराहालाई आफ्नो माइत मान्छन् ।’

सापकोटाले जोडे, ‘झन् संविधानसभामा सिराहाका जनताले जिताएपछि सिराहाप्रति प्रचण्ड कमरेडको भावना अझ बलियो भएको छ, त्यो भावनाका कारण पनि उहाँ सिराहालाई आफ्नो ठाउँ मान्नुहुन्छ ।’

सापकोटाले यस्तो बताए पनि राजनीतिक विश्लेषकहरु यसलाई एउटा नेतामा हुनु पर्ने चातुर्य बानीका रुपमा लिन्छन् । प्रचण्डका आलोचक पनि मानिने एक विश्लेषकले नाम उल्लेख नगर्न अनुरोध गर्दै भने, ‘यसमा त्यस्तो विशेष कारण केही देखिँदैन, प्रचण्डले चलाखी देखाएका हुन् ।’

ती विश्लेषकलाई प्रचण्ड शब्दहरुमा खेल्न सक्ने र त्यसैको एक उदाहरण उनले सिराहाका जनताको मन जित्न त्यसप्रति यस्ता कुरा गर्ने गरेको लाग्छ ।

  • प्रकाशित मिति : माघ २८, २०७५ साेमबार २०:३८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया