बाबुकाे नजरमा छाेरा
छोरा अनमाेलबारे भुवन केसीः अनमोलको तुलाना बलिउड होइन, हलिउडका हिरोसँग हुन्छ

पछिल्लो समयका स्टार अभिनेतामध्ये एक हुन्, अनमोल केसी । अनमोलले खेलेका फिल्म प्रायः सबै सुपरहिट भएका छन् । युवापुस्ताबीच अत्यन्त लोकप्रिय छन्, अनमोल । उनको अभिनय, लुक्स तथा आनीबानीका बारम्बार समाचार बनिरहेका हुन्छन् । अनमोल चर्चाको शिखरमा किन पनि आए भने उनी अभिनेता भुवन केसीका छोरा हुन् ।

नेपाली सिने बजारमा कतिपयले कमेन्ट गर्ने गरेका छन्– भुवनले छोरालाई निकै प्रोटेक्सन गरेर हुर्काएका छन्, अहिले पनि अनमोल भुवनको सुपरभिजनमा हुन्छन् । वास्ताविकता के हो त ? फरकधारसँग अनमोलबारे भुवनले लामो कुरा गरेका छन् । भुवनका नजरमा अभिनेता अनमोल केसीः


इम्प्रुभमेन्ट राम्रो भइरहेको छ

अनमोल सुरुमा यो क्षेत्रमा हाम्फाल्दा के होला भन्ने थियो । मानिसमा त्यस्तो संशय सबैमा हुन्छ नै । मैले लामो समय यो क्षेत्रमा बिताएको थिएँ, यसका सुखदुःख मलाई राम्रो थियो । नेपाली बजारबारे पनि म राम्रोसँग अपडेट नै थिएँ । त्यसैले अनमोलले फिल्मी क्षेत्रमा लाग्छु भन्दा के हुने हो भन्ने मेरो मनमा पनि उठेको थियो ।

तर, सत्य के हो भने कुनै पनि काम नगरी के हुन्छ भन्ने थाहा हुँदैन । अनमोलले पनि अभिनय सुरु गर्ने भयो । उसको कामलाई सुरु देखि नै मैले अत्यन्त नजिकबाट हेरेँ, दुवै बुवा भएकाले र एउटा अभिनेता पनि भएकाले ।

पछिल्लो समयसम्म आइपुग्दा म अनमोलमा निकै धेरै परिवर्तन देख्छु । उसमा आएको परिवर्तनले मलाई निकै खुसी दिएको पनि छ । उसमा इम्प्रुभमेन्ट राम्रो भइरहेको छ । 
अहिले कथाको डिमान्डअनुसार अनमोल काम गर्छ । जस्तो उसले सिनेमामा ज्यान बनाउनु पर्ने छ भने त्यही अनुसार काम गरिरहेको हुन्छ । स्क्रिप्टको डिमान्डअनुसार उसले निकै ध्यान दिइरहेको हुन्छ । कहिले फुटबल खेलेको देखिन्छ त कहिले विहानै जिम सेन्टरमा गएको हुन्छ । 



डे बाइ डे म उसमा सुधार देखिरहेको हुन्छु । प्रत्येक दिन उसमा नयाँ जोश र जाँगर देखिरहेको हुन्छु र ऊ झन्झन् डिसिप्लिन्ड पनि भइरहेको छ । अभिनयका लागि चाहिने सबै कुरामा उसले काम गरिरहेको छ, काम गरिरहन्छ ।


अनमोलको अभिनय पर्फेक्ट, हलिउडका कलाकारसँगमात्र हुन्छ तुलना



पछिल्ला फिल्महरुमा आइपुग्दा अनमोलको अभिनयको विकास अत्यन्त राम्रोसँग भइसकेको छ । उसको अभिनय मलाई निकै सुधार भएको जस्तो लाग्छ । अहिले उसको अभिनयलाई एउटै शब्दमा डिफाइन गर्ने हो भने मसँग भएको त्यो शब्द हो– पर्फेक्ट ।

हिजो मैले अभिनयबारे सिक्दा गुरुहरु भन्नुहुन्थ्यो, अभिनय दुई–तीन प्रकारका हुन्छन् ।

त्योमध्ये एउटा हो रंगमन्चमा गरिने अभिनय । रंगमन्चमा गरिने अभिनय निकै फरक हुन्छ । टाढाको दर्शकले पनि एउटा कलाकार बोलेको सुन्नु पर्ने हुन्छ, उसको हाउभाउबारे थाहा पाउनु पर्ने हुन्छ । त्यसैले रंगमन्चको अभिनय लाउड हुन्छ । जोडले बोल्ने त्यो अभिनयले कुनै थिएटरको अन्तिममा बसेको दर्शकलाई पनि क्याच गर्न सक्ने खालको हुनुपर्छ ।

रंगमन्चको अभिनयमा म तिमीलाई माया गर्छु भनेर प्रेमिल स्वरमा भन्न सकिँदैन, कानेखुसी गरेर भनेको कुरा दर्शकले सुन्दा पनि सुन्दैनन् । तर, ठूलो पर्दामा त्यस्तो लागू हुँदैन । ठूलो पर्दामा त कानेखुसी गरेको कुरा पनि दर्शकको कुरा हो, त्यसले पनि दर्शकलाई बाँध्न सक्ने हुनुपर्छ ।

जसले सबै विषयमा दर्शकलाई बाँध्न सक्छ, त्यो नै एक्टर हो । अहिले अनमोल एक्टर भइसकेको छ ।

अब अहिले कतिपय एक्टरहरु रंगमन्चबाट प्रभावित भएर आएका छन् । उनीहरुको अभिनय त्यसैले लाउड देखिन्छ ।

अभिनयमा ओभरप्ले र अन्डरप्ले भन्ने हुन्छ । ओभरप्ले भनेको कसैले झपारेको छ भने त्यसलाई पनि तत्काल झपार्नु हो । र, त्यो पनि ठूलो स्वरमा । अन्डरप्लेमा सानो स्वरबाट ठूला काम पनि सहजै गर्न सकिन्छ, त्यो भनेको नै अभिनय हो । कसैले ठूलो स्वर गरेको छ भने पनि त्यसलाई अभिनयबाट नै मेट्न सक्नुलाई अत्यन्त राम्रो कदमका रुपमा लिनु पर्छ ।

अभिनयमा नै कसैको गाली सुनेपछि एउटा कलाकारले गर्ने अभिनयले उसको खास क्षमता के हो भन्ने निर्धारण गर्छ। एक्सप्रेसनले नै कसैलाई चुपचाप लगाउन सकियो भने झन् गज्जब हुन्छ । 

एउटा राम्रो अभिनेता त्यो हो जसले त्यस्ता एक्सप्रेसनलाई सहजै ह्यान्डल गर्न सक्छ । अनमोलमा त्यो गुण छ, त्यसैले ऊ पर्फेक्ट कलाकार हो, राम्रो अभिनेता हो ।

अनमोलको अभिनय अन्डरप्ले अभिनय हो । यो सहज काम होइन । अब नेपालमा त यस्तो तरिकाले अभिनय गर्नेहरु अत्यन्त कम छन् । त्यसमा अनमोल पर्छ ।

नेपालमा मात्र होइन, यस्तो अभिनय गर्नेहरु बलिउडमा पनि कम नै छन् । नसुरद्दीन शाह, नवाजुद्दीनहरुले अन्डरप्ले एक्टिङ गरिरहेका हुन्छन् । 

अन्डरप्ले एक्टिङ गर्ने अधिकांश कलाकारहरु हलिउडमा छन् । त्यसैले मेरो छोरो अनमोलको एक्टिङ तथा अभिनयबारे बलिउडका कलाकार होइन, हलिउडका हिरोसँग तुलाना हुन्छ ।

अनमोलको एक्टिङ भनेको ‘लार्जर देन लाइफ’ एक्टिङ हो । त्यसैले पनि उसको तुलना अहिले नेपाली सिने कलाकारहरुसँग नगरौँ । 

अनमोलको अर्को राम्रो पक्ष भनेको उसको एक्टिङमा भएको सफ्टनेस र स्विटनेस हो । त्यसैले उसको एक्टिङको प्याटर्न नै फरक छ। म नेपालका अन्य कुनै पनि कलाकारसँग

अनमोलको एक्टिङबारे कम्पेयर गर्न चाहन्नँ, उसको जुन पक्ष छ, त्यसको जति नै तारिफ गरे पनि कमै हुन्छ ।

उदाहरणका लागि हामीले उसका फिल्मलाई नै लिँदा पनि हुन्छ । होस्टलमा उसले जस्तो अभिनय गरेको थियो, त्यस्तो ड्रिम्समा थिएन । झन्, कृमा आइपुग्दा उसको अभिनयमा धेरै सुधार आएको छ, म्याचुरिटी देखिन्छ ।

 

डिस्को जाँदैन, मन्दिर जान्छ

पछिल्लो समय मिडियामा हल्ला आएका छन्– भुवनले छोरालाई कन्ट्रोल गरेर राखेको छ । तर, यो सब गलत कुरा हो । 

हो, मैले छोरालाई ऊ सानो छँदा यसो गर, उसो गर भनेँ । तर, सधैं उसलाई एउटा बन्धनमा म राख्दिनँ । म आजभोलि अनमोललाई यसो गर, उसो गर भन्दिनँ । यसै पनि ऊ सोबर नेचरको छोरा हो । त्यसैले ऊ भलाद्मी छ, आफूलाई सही ठाउँमा नै हिँडाइरहेको छ । 

अर्कोतिर अनमोल बदमास नेचरको छैन । त्यसैले उसलाई गाइड गरिरहनु पर्ने नै छैन । अब ऊ आउटगोइङ मान्छे नै होइन, धेरैजसो घरमा नै बस्छ । घरमा नै बस्ने उसलाई किन धेरै कन्ट्रोल गरिरहनु पर्छ र ?

बरु म कहिलेकांही उसलाई तिमी त अब यसो बाहिर तिर जाउ, रमाइलो गर भन्छु । तर, ऊ मान्दैन । नमानेपछि मेरो पनि केही लाग्दैन । 

अनमोलको नेचर अरुकोभन्दा फरक छ । ऊ फुर्सद भएको समयमा बाहिर निस्कन खासै मन पराउँदैन । बरु घरमै बस्छ, किताब पढौँ न भन्छ । उसलाई किताब र मुभी भए पुग्छ, दिनभर घरमा मुभी हेरेर र किताब पढेर पनि बस्न सक्छ ।

बाहिर यसो कहिलेकांही साथीभाइसँग रमाइलो गर्न पनि जाउ न भन्दा अनमोल मान्दैन, बरु धर्मकर्ममा पो ध्यान दिन्छ । बाहिर डिस्कोमा नजाने अनमोल मन्दिर भने जान रुचाउँछ । उसलाई धर्मकर्ममा बढो चासो छ । त्यसमा ध्यान दिइरहेको हुन्छ ।


फ्यानलाई सम्मान गर भन्छु

एउटा कलाकारका लागि फ्यान भनेको सबैभन्दा ठूलो सम्पत्ति हो । आर्टिस्टका लागि फ्यान चाहिँ जो पनि हुनसक्छन् । 

तर, के साँचो हो भने मेल आर्टिस्टका फिमेल फ्यान बढी हुन्छन्, फिमेल आर्टिस्टका मेल फ्यान बढी हुन्छन् । हो, पुरुष कलाकारका पुरुष प्रशंसक र महिलाका महिला पनि हुन्छन् । तर, तुलाना गर्दा अत्यन्त कम ।

मलाई थाहा छ, मेरो अनमोलका पनि धेरै लेडिज फ्यान छन् । तर, म यो विषयमा उसलाई खासै केही भन्दिनँ । मैले भन्ने भनेको एउटै कुरा हो– फ्यानको रेस्पेक्ट गर, जस्तोसुकै फ्यान भए पनि रेस्पेक्ट गर्नुपर्छ भन्ने कुरा म उसलाई गरिरहेको हुन्छु ।

अब लेडिज फ्यानबारे चाहिँ म केही पनि टिप्स दिन्नँ । रोयल फ्यामिलीको फ्यान होस् या एउटा सामन्य परिवारको फ्यान नै किन नहोस्, सबै हाम्रा लागि बराबर हुन् । कोही पनि फ्यान धेरै पढेको भन्ने हुँदैन, कोही पनि फ्यान कम पढेको भन्ने पनि हुँदैन । कोही पनि फ्यान धेरै धनी भन्ने हुँदैन, कोही पनि फ्यान गरिब भन्ने हुँदैन । आखिर हामी आर्टिस्टलाई चाहिने भनेको माया हो, हाम्रो कामप्रतिको सम्मान हो । त्यसैले फ्यान जो हुँदा पनि हामीले कुनै न कुनै माया पाइरहेका हुन्छौँ, त्यसैले हामीले गर्ने सम्मान पनि बराबरको हुनुपर्छ ।

हामीले सबै फ्यानलाई उत्तिकै माया गर्नुपर्छ, उत्तिकै सम्मान गर्नुपर्छ ।

 

जसले भेटेका छैनन्, उनीहरु भ्रम छरिरहेका छन्

अहिले त मैले अनमोललाई होइन, अनमोलले मलाई समयसमयमा सुझाव दिइरहेको हुन्छ । उसले हिजो मैले खेलेका सिनेमाबारे पनि बारम्बार बताइरहेको हुन्छ । मलाई भनिरहेको हुन्छ– यस्ता दुईचार सिनेमा चाहिँ हजुरले नखेलेको भए हुन्थ्यो ।

उसको बुझाई अत्यन्त राम्रो भएकाले पनि अब मैले सुझाव दिइरहनु पर्ने जरुरत नै देख्दिनँ । अहिले अनमोललाई के गर्ने÷नगर्ने धेरै थाहा भइसकेको छ । उसका कुराहरु निकै डिसेन्ट हुन्छन्, ऊ निकै सोबर छ । त्यसैले पनि अनमोललाई सिकाइरहनु पर्ने केही भएजस्तो लाग्दैन ।

तर, बाहिर ऊबारे निकै धेरै भ्रम छन् । त्यस्ता भ्रम चाहिँ उसलाई भेट्न नपाउनेहरुले फैलाउने रहेछन् । जसले उसलाई भेटेका छैनन्, उनीहरु अनमोलबारे भ्रम फैलाएर बसिरहेका हुन्छन् । 

एकपटक उसलाई भेटेको मान्छेले त उसलाई निकै माया गरिरहेको म देख्छु । मेरा साथीहरु हुन् या उसले भेटेका नयाँ व्यक्तिहरु हुन्, उसको स्वभावका कारण निकै खुसी भइरहेको म देख्छु । तर, जसले चाहेर पनि भेट्न पाउनु भएको छैन, उहाँहरु अनमोल घमन्डी छ भन्दै हिँडिरहनुको भएको पनि मैले पाएको छु । त्यो खासमा सबै भ्रम हो, उहाँहरुले त्यस्तो नगर्नु भए हुन्थ्यो ।

 

अनमोलको ध्यानः नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गरौँ

अनमोल सानै एजमा फिल्ममा लाग्यो । त्यसैले छोटो समयमा नै उसले धेरै बुझ्ने अवसर पनि पायो, दुःख पनि पायो । पहिले त लेट नाइट सुत्न मन पराउँथ्यो ऊ, अनि विहान उठ्दैनथ्यो । अहिले आएर उसको आनबानी र स्वभावमा धेरै परिवर्तन आएको छ । उसले आवश्यकता अनुसार आफूलाई परिवर्तन गरिरहेको छ । त्यसैले पनि मलाई निकै खुसी लाग्छ ।

आजभोलि अनमोल अधिकांश समय नेपाली फिल्मका लागि के गर्न सकिन्छ भन्नेमा ध्यान दिइरहेको हुन्छ । ऊ चाहन्छ नेपाली फिल्म अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सकियोस्, विदेशमा पनि हाम्रो फिल्म हेरियोस् । एकदिन कुरैकुरामा उसले मलाई भनेको थियो– त्यसो हो भने हाम्रो संस्कृति र पर्यटन निकै फस्टाउँथ्यो नि ।

मेरो छोरा अनमोलको यो चाहना पूरा होस्, मेरो शुभकामना । 

  • प्रकाशित मिति : माघ २८, २०७५ साेमबार २३:२८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया