मतदाता शिक्षा अभाव : मकवानपुरमा हजारौँ मत बदर

४ मंसिरमा भएको निर्वाचन मकवानपुरमा पनि शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । निर्वाचन कार्य सकिएसँगै नवनिर्वाचित सांसदले प्रमाणपत्रसमेत लिइसकेका छन् ।

निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर विजयी भएका प्रतिनिधि सभा सदस्यले लगभग ३५ हजारको हाराहारीमा मत ल्याएका छन् । अन्य निर्वाचित सांसदले भने अपेक्षा गरेअनुसार मत ल्याउन सकेनन् । 

निर्वाचनमा बदर मत कम गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा स्थानीय तहको समन्वयमा मतदाता शिक्षा पनि सञ्चालन गर्यो । तर, बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरमा मतदाता शिक्षा अभावकै ३१ हजार ४ सय ७४ मत बदर भएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा जिल्लाका १० वटा स्थानीय तहका १ सय २ वटा वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । वडास्तरीय स्वास्थ्य स्वंमसेविकालाई परिचालन गरेर सबै वडामा मतदाता शिक्षा सिकाइएता पनि मकवानपुरमा मतदाता शिक्षाको अभावकै कारण भारी मत बदर भएको तथ्य सार्वजनिक भएको छ । 

बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मा ९१ हजार चार सय ८९ मत खसेकोमा चार हजार ५८ मत बदर भएको छ । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ४६ हजार दुई सय ३० मत खसेकोमा एक हजार छ सय ६३ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४५ हजार ८० मत खसेकामा पाँच सय चार मत बदर भएको छ ।

निर्वाचन क्षेत्र नं २ मा ८६ हजार तीन सय एक मत खसेकोमा चार हजार एक सय दुई मत बदर भएको छ । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ४५ हजार आठ सय ५३ मत खसेकामा एक हजार पाँच सय ९९ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४३ हजार तीन सय २९ मत खसेकामा एक हजार चार सय ९४ मत बदर भएको छ ।



प्रतिनिधिसभाको समानुपातिकतर्फ क्षेत्र नं १ प्रदेशसभा १ मा ४५ हजार ७५ मत खसेकामा एक हजार छ सय ९८ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४६ हजार १२ मत खसेकामा दुई हजार तीन सय ९५ मत बदर भएको छ । त्यसैगरी क्षेत्र नं २ मा ८६ हजार तीन सय ३८ मत खसेकामा चार हजार एक सय १४ मत बदर भएको छ भने प्रदेशसभाका लागि ८६ हजार ३३ मत खसेकामा पाँच हजार दुई सय ६६ मत बदर भएको छ । 

यसरी अत्यधिक मत बदर हुनु उम्मेदवारको लागि घाटाको विषय हो । तर गाउँ-गाउँमा मतदाता शिक्षा भन्दा राजनीतिक दलका प्रतिनिधिले आफ्ना चुनाव चिन्ह देखाएर मत दिन आव्हान गर्दाको नतिजाले यत्तिका धेरै मत बदर भएको हुनसक्ने स्थानीयको ठम्याइ छ । 



यता, गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको तुलनामा यो निर्वाचनमा बदर मतको संख्या अत्यधिक बढेको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाले समेत स्वीकार गरेको छ ।  निर्वाचन आयोगको निर्देशनअनुसार मतदाता शिक्षा सञ्चालन गरिएको भए पनि यति धेरै संख्यामा मत बदर हुनु आश्चर्यजनक रहेको बताइएको छ ।

चारवटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्नेमा कतिपयले एउटै मतपत्रमा पनि चारवटा फरकफरक चिह्नमा मतदान गरेको अथवा मतपत्रको संख्याका कारण मतदाता झुक्किएको हुन सक्ने निर्वाचन कार्यालयको समेत दावी छ । 

राजनीतिक दलको तछाडमछाड गरी प्रचार प्रसार गर्ने प्रवृत्तिको कारण पनि मत बदर भएको हुनसक्ने आकलन छ । कतिवटा मत पत्र छन्, स्वस्तिक छाप कसरी लगाउने आदि कुराको सामान्य ज्ञान भन्दा उम्मेदवार नै पिच्छे यो चिन्हमा मत दिनुस् भन्ने एकोहोरो प्रवृत्तिले मत बदर गराएको हुनसक्ने विज्ञहरूको भनाइ छ । मकवानपुरमा यसपटकको निर्वाचनमा तीन लाख सात सय ३३ मतदातामध्ये एक लाख ७८ हजार दुई सय ८२ जनाले मात्र मतदान गरेका थिए । 

  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १२:१७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया