धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने, नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न माग

ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि हटाइने भएको छ । 

जिल्ला प्रशासन कार्यालय कैलालीले आज साँझ जारी गरेको निषेधाज्ञा सम्बन्धी सूचनामा विद्यालयतर्फ जाँदै गरेकी गणेश साउदकी १५ वर्षीया छोरी चेतना साउदको धनगढी पीपलचौतारा सडक खण्डमा सडक निर्माणमा प्रयोग भइरहेको ग्रेडरको ठक्करबाट मृत्यु भएपछि शान्तिसुरक्षालाई सामान्य तुल्याउन जारी निषेधाज्ञा यही मङ्सिर १७ गते बिहान ४ बजेदेखि हटाइएको उल्लेख गरिएको छ । 

किशोरीको मृत्युको घटनापछि शान्ति सुव्यवस्थाको अवस्थालाई दृष्टिगत गरी स्थानीय प्रशासनले बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि धनगढीको घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । स्थानीय पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत किशोरी साउदको ठक्करबाट मृत्यु भएको थियो । 

घटनाको विरोधमा ग्रेडर चालकलाई कडा कारबाही गर्नुपर्ने र पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन मागसहित विद्यालयका विद्यार्थीले आज दोस्रो दिन निषेधाज्ञाको अवज्ञा गर्दै धनगढीमा  टायर बालेर प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले उत्पन्न परिस्थितिलाई थप बिग्रन नदिन केही विद्यार्थी र अन्य केही सर्वसाधारणलाई नियन्त्रणमा लिनुका साथै अश्रुग्याससमेत प्रयोग गर्नु परेको थियो ।

कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग
साउदको न्यायका लागि धनगढीमा प्रर्दशन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीलाई निशर्त रिहाइ गर्न विद्यार्थी संगठनले माग गरेका छन् । विभिन्न राजनीतिक दल सम्बद्ध ८ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको तत्काल रिहा गर्न माग गरेका हुन् ।

‘चेतनाको न्यायका निम्ति भइरहेको आन्दोलनप्रती ऐक्यबद्धता जाहेर गर्दै आन्दोलनका प्रहरी प्रशासनको धरपकड र गिरफ्तारीको निन्दा र भर्त्सना गर्दछौँ,’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तारी गरिएका साथीहरुलाई नि:शर्त रिहा गर्न माग गर्दछौँ । साथै ग्रेडर चालकलाई कडा कारवाही गरी मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ ।’



विज्ञप्तिमा नेपाली कांग्रेस निकट नेविसंघ निवर्तमान सहमहामन्त्री अच्युत कलौनी, एमाले निकट अनेरास्ववियु सुदूरपश्चिमका संयोजक मनोज राई, माओवादी निकट अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष दिपककुमार डिसी, विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज बबरजंग सिंह लगायतले हस्ताक्षर गरेका छन् । 



  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार २१:२६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया