आईसीसी विश्वकप क्रिकेट लिग–२ का लागि नामिबिया भ्रमणमा रहेको नेपाल र घरेलु टिमबीचको खेल नतिजाविहीन भएकाे छ ।
विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा नामिबियाले १९८ रनको लक्ष्य पछ्याउने क्रममा चार बल खेलेर चार रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल सम्भव नभएपछि नेपाल र नामिबियाबीचको खेल नतिजाविहीन बनेको हो ।
नामिबियाले टस जितेर फिल्डिङ रोजेको थियो । त्यसपछि ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको थियो । नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ७५ रन बनाएका थिए । आरिफ शेखले २३, आसिफ शेखले २० तथा अर्जुन साउद र गुल्सन झाले समान १८ रन बनाए । त्यस्तै कप्तान रोहितकुमार पौडेल र सोमपाल कामीले समान १० रन जोडे ।
नामिबियाको टानगेनी लुनगामेनीले ३ र कारी बिरकेनस्टोकले २ विकेट लिए । जेजे स्मित, बर्नार्ड स्कोल्टज र गेहार्ड इरसमसले एक एक विकेट लिए ।
२१ खेलबाट १८ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ । ओमान ४४ अंकका साथ शीर्ष स्थानमा छ । ४२ अंक जोडेको स्कटल्यान्ड दोस्रो, ३५ अंक जोडेको अमेरिका तेस्रो, ३३ अंक जोडेको नामिबिया चौथो र यूएई २७ अंकसाथ पाँचौँ स्थानमा छ ।
ओमान र अमेरिकाले सबै ३६ खेल खेलिसकेका छन् । नेपालले १५ खेल खेल्न बाँकी छ । नामिबिया भ्रमणबाहेक नेपालले घरेलु मैदानमा दुई शृंखलामा ८ खेल खेल्नेछ । नेपालले नामिबिया, स्कटल्यान्ड, यूएई र पपुवा न्युगिनीसँग समान चार खेल खेल्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।