दक्षिण कोरियाले हरायो पोर्चुगललाई, घाना उरुग्वेसँग पराजित हुँदा दुवै टिम विश्वकपबाट बाहिरिए

कतार विश्वकपमा आज भएको समूह एचको खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोलले जित निकालेको छ । योसँगै दक्षिण कोरिया अन्तिम १६ मा पुगेको छ । 

यो समूहको शीर्ष स्थानमा रहेको पोर्चुगलले पनि आजको खेलमा हार व्यहोरेको भए पनि अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ । 

आजै भएको खेलमा घाना र उरुग्वेबीचको खेलमा घाना ०–२ ले पराजित भएको छ ।

योसँगै घाना र उरुग्वेका लागि यसपटकको विश्वकपको खेल सकिएको छ । 

आजको पोर्चुगल र दक्षिण कोरियाको खेलमा पहिलो पाँचौ मिनेटमा नै पोर्चुगलले अग्रता लिएको थियो । पोर्चुगलका लागि रिकार्डो होर्टाले गोल गरेका थिए । 

२७ औं मिनेटमा दक्षिण कोरियाका किम योङ ग्वाङले गोल फर्काए । 



पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको अन्तिम मिनेटमा पनि कुनै टिमले गोल गर्न सकेका थिएनन् । तर, थपिएको पहिलो मिनेटमा दक्षिण कोरियाका लागि ह्वाङ ही चानले गोल गरे ।

योसँगै सन् २००२ को विश्वकपको बदला दक्षिण कोरियाले पोर्चुगलसँग लिएको छ । त्यति बेला ग्रुप स्टेजको अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरियालाई हराएको थियो । 
सन् २०२२ को ग्रुप चरणको अन्तिम खेलमा पोर्चुगललाई दक्षिण कोरियाले हराउँदै उसले पनि अन्तिम १६ मा आफ्नो स्थान बनाएको छ । सन् २००२ मा पोर्चुगलका लागि खेलेका थिए, पाउलो बेन्टोले जो अहिले दक्षिण कोरियाली टिमका प्रशिक्षक हुन् ।



आजै भएको अर्को खेलमा घानालाई पराजित गर्न उरुग्वेका दुवै गोल डि अर्रास्केटाले गरेका हुन् । उनले २६ औं र ३२ औं मिनेटमा गोल गरेका थिए । उनले गरेको दोस्रो गोलमा एसिस्ट गरेका थिए, स्वारेजले ।

उरुग्वेसँग हार व्यहोरेसँगै घाना यो समूहको अन्तिममा रहेर विश्वकपबाट बाहिरिएको छ ।
 

  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार २३:९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया