शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गण्डकी प्रदेशलाई अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिएका छन् । शुक्रबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को विशिष्टीकृत अनुसन्धान केन्द्रको (पर्वतीय हरित अर्थतन्त्र) सम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
‘गण्डकी प्रदेश भन्नेवित्तिकै सम्भावना धेरै भएको ठाउँ हो,’ उनले भने, ‘गण्डकी प्रदेशलाई अनुसन्धानको केन्द्र बनाउन मेरो ठाउँबाट आवश्यक पहल हुन्छ, तपार्इंहरु अनुसन्धान तथा अन्वेषणका लागि तयार हुनुहोस् ।’
उनले उत्पादित जनशक्तिले जनताको भावनालाई जोडेर अगाडि बढ्दा प्रतिफल आउने बताए । विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षालाई जोडेर जाने गरी तयारी भएको बताउँदै उनले ९० दिनसम्म इन्टरन्सिपको व्यवस्था बजेटमा गरिएको उल्लेख गरे ।
एक सय ४० विद्यालयमा गत वर्र्ष र यसवर्ष एक सय विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनले अनुसन्धानको क्षेत्रलाई फराकिलो बनाउनुपर्ने बताए । शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग जोड्दै समाजलाई अर्थतन्त्रको बाटोमा लैजाउनुपर्ने उनको भनाइ छ ।
परिणाम आउने गरी काम गर्न उनले नाष्टलाई निर्देशन पनि दिए । नाष्टले सातै प्रदेशमा स्थापनागर्न लागेको पर्वतीय हरित अर्थतन्त्रसम्बन्धी कार्यक्रमको शाखा कार्यालय लुम्बिनी विश्वविद्यालय, कृषि वन तथा विज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालयमा स्थापना गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।