काठमाडौं– यस महिना सुन प्रतितोला ११ सयले बढेर ६२ हजार १ सय पुग्यो । पहिलो दिन ६१ हजारबाट सुरु भएको कारोबार उतारचढाबका बीच महिनाको अन्तिम दिन शुक्रबारसम्म प्रतितोला ११ सयले बढ्यो । यस्तै, चाँदी प्रतितोला १० रुपैयाँले बढेर ७ सय ७५ मा अन्तिम कारोबार भयो ।
गत महिना पनि सुनको मूल्य प्रतितोला १२ सय तथा चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको थियो ।
अमेरिका र चीनबीच व्यापार द्वन्द्व चलिरहँदा लगानीकर्ताहरु आफ्नो लगानी सुरक्षित गर्न सुनमा आकर्षित भएपछि पछिल्ला दुई महिना सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका सूचना अधिकारी मनोजकुमार साहले बताए ।
गत महिनाको अन्तिम दुई दिन भने सुनको भाउ घटेको थियो । तर, चालु महिनाको पहिलो साता नै सुनचाँदीको मूल्य बढ्यो । पहिलो दिन मंगलबार प्रतितोला ४ सयले बढेर ६१ हजारबाट कारोबार भएको सुन अन्तिम दिनसम्म स्थिर रह्यो । यस्तै, चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढेर अन्तिम दिन प्रतितोला ७ सय ६५ मा स्थिर बन्यो ।
साताभरि नै सुनचाँदीको मूल्य स्थिर देखिए पनि दोस्रो साता भने सुनचाँदीको मूल्यमा उतारचढाब देखियो । महासंघका अनुसार दास्रो हप्ताभरिमा सुन प्रतितोला ४ सयले घटेर ६० हजार ६ सय तथा चाँदी प्रतितोला १० रुपैयाँले घटेर ७ सय ५५ मा अन्तिम कारोबार भयो । डलरको तुलनामा भारतीय मुद्रा मजबुत भएकाले नेपाली बजारमा सुनचाँदीको भाउ घटेको वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।
तेस्रो साता सुनचाँदीको भाउ पुनः बढ्यो । आइतबार ६ सयले बढेर ६१ हजार २ सयबाट कारोबार भएको सुन निरन्तर बढ्दै अन्तिम दिनसम्म आइपुग्दा ६२ हजार ३ सय रुपैयाँमा पुग्यो । यस्तै, चाँदी पहिलो दिन प्रतितोला १० रुपैयाँले बढेर ७ सय ६५ रुपैयाँबाट कारोबार भएको थियो । साताभरि चाँदी प्रतितोला थप १५ ले बढेर ७ सय ८० रुपैयाँमा कारोबार भयो ।
सुनचाँदीको भाउ निरन्तर बढिरहँदा विश्लेषकहरुले अझै केही दिन बढ्ने सम्भावना देखाएका थिए ।
फलस्वरुप, चौथो साता मंगलबारसम्ममा सुन प्रतितोला थप ३ सयले बढेर ६२ हजार ६ सय तथा चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ८५ रुपैयाँ पुग्यो । तर, साताको अन्तिम दिनसम्म भने सुन घटेर प्रतितोला ६२ हजार १ सयमा कारोबार हुँदा चाँदी ७ सय ७५ आएर थामियो ।
समग्रमा चालु महिनाको अन्तिम शुक्रबारसम्म केही उतारचढाबका बीच सुन प्रतितोला ११ सय र चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार बजारमा दैनिक २५ देखि ३० केजी सुनको माग हुने गर्छ । तर, गत महिनादेखि नै सुनचाँदीको मूल्य अकासिँदै जाँदा बजारमा यसको प्रभाव देखिएको छ । विवाहको सिजन भए पनि पछिल्लो समय दैनिक २० केजीको हाराहारीमा मात्र सुनको खपत भइरहेको छ ।
कसरी हुन्छ सुनको मूल्य निर्धारण ?
सुनचाँदीको मूल्यमा नेपाली रुपैयाँ र अमेरिकन डलरको विनिमय दरले प्रभाव पार्छ । नेपालको सुनचाँदी मूल्य समायोजन समितिले अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यमा अमेरिकन डलरसँगको विनिमय दर गुणन गरेर नयाँ मूल्य निर्धारण गर्छ । अमेरिकन डलरसँगको विनिमय दर तलमाथि हुँदा सुनचाँदीको मूल्य पनि घटबढ हुन्छ ।
नयाँ निर्धारित मूल्यमा प्रति १० ग्राम सुनमा ४२ सय भन्सार कर थप हुन्छ । त्यति मात्रै होइन, ओभर हेड चार्ज, कारोबार गर्ने बैंकको नाफा र व्यापारीको नाफा समान शून्य दशमलव ५ प्रतिशत गरी जम्मा १ दशमलव ५ प्रतिशत थप गरेर कायम भएको मूल्य बजारमा जान्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।