भर्खरै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनबाट सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्यहरुको नतिजा आइसकेको छ । अन्तिममा बाजुराका दुईवटा प्रदेश निर्वाचन क्षेत्रको नतिजा आएसँगै प्रदेशका ९ वटै जिल्लाका ३२ क्षेत्रको नतिजा आएको हो ।
समानुपनतिक तर्फको नतिजा पनि अन्तिम चरणमा रहेको छ ।
प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसका १२, माओवादीका ८, नागरिक उन्मुक्ति पार्टीका ५, एकीकृत समाजवादीका ३, एमालेका ३ र स्वतन्त्र १ जना निर्वाचित भएका छन् ।
प्रत्यक्षतर्फबाट अहिले ५ दल र एक स्वतन्त्रको प्रतिनिधित्व भएको छ । समानुपातिको नतिजा आइसकेपछि राप्रपासहित प्रदेश सभामा दलको संख्या ६ दल र एक स्वतन्त्र हुने देखिएको छ ।
२०७४ सालको निर्वाचनमा यस प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी गरि चार दलको प्रतिनिधित्व भएको थियो । तर, पछि २०७८ सालमा नेकपा एमाले र जनता समाजबादी विभाजित भएपछि प्रदेश सभामा दलको संख्या ६ पुगेको थियो ।
निर्वाचनको अन्तिम नतिजा आइसक्दा सुदूरपश्चिम प्रदेश सभा सचिवालयका कर्मचारी नवनिर्वाचित प्रदेश सभा सदस्यको स्वागतको तयारीमा जुटेका छन् ।प्रदेशमा ६ दल बन्ने भएपछि संसदीय दलका कार्यालयको व्यवस्थापन, प्रदेश सभा बैठक हलको व्यवस्थापन, सभा सञ्चालनका लागि आवश्यक पर्ने विजनेशलगायतको तयारीमा प्रदेश सभा जुटिरहेको छ ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अविधेशनमा आवश्यक पर्ने भौतिक पूर्वाधारको तयारीमा जुटेको बताए ।
‘प्रदेशसभाको व्यस्थापन पनि गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘प्रदेश सभाको भवनमा केही संरचना परिवर्तन पनि गरेका छौं । विभिन्न दलबाट निर्वाचित भएर आएका हुँदा बस्ने व्यवस्थामा पनि केही परिवर्तन गरेको उनले बताए ।
‘एकजना माननीयलाई एउटा टेबल जोड्ने तयारी भइरहेको उनले बताए । दल अदल बदल भएको हुँदा कुर्सी टेवल पनि परिवर्तन गरिएको उनले बताए ।
प्रदेश सभाको भवनहरु केही सडकको भाग तर्फ परेको भवन भत्काइरहेको हुँदा अहिलेलाई त्यही बाँकी रहेकै भागमा काम गर्ने गरी व्यवस्था मिलाइरहेको उनले बताए ।
०७४ सालमा जिल्ला समन्वय समिति कैलालीको भवनमा प्रदेश सभा सचिवालयको कार्यालय बनाइएको थियो । जिल्ला समन्वय समितिले व्यापारिक परियोजनाका लागि बनाएको भवनमा संसदीय दल र विषयगत समितिको कार्यालय व्यवस्थापन गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।