मधेस प्रदेशमा को-को बन्दै छन् समानुपातिक सांसद?

मधेस प्रदेशसभामा समानुपातिक प्रणालीबाट चुनिने ४३ सांसदमध्ये मधेसी ५४.३६ प्रतिशत, दलित १७.२९ प्रतिशत, मुस्लिम ११.५८ प्रतिशत, जनजाति ६.६१ प्रतिशत र खसआर्य ४.८९ प्रतिशत समावेश गराउनु पर्ने हुन्छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट २५.१७ र पिछडिएका क्षेत्रबाट २.११ प्रतिशत नाम समावेश हुनुपर्दछ । 

मधेस प्रदेश सभाका कुल १०७ सदस्यमध्ये ३५ जना महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार दलहरुले समानुपातिक प्रणालीबाट ३१ जना महिलालाई छनोट गर्नु पर्दछ । मधेस प्रदेशमा प्रत्यक्षबाट चारजना महिला निर्वाचित भइसकेकी छन् । 

प्रदेशसभामा प्रत्यक्षतर्फ महोत्तरी १ (क) बाट नेकपा एमालेकी शारदा थापा, महोत्तरी २ (ख) बाट स्वतन्त्र उम्मेदवार सुरिता कुमारी साह, महोत्तरी ३ (ख) बाट लोसपाकी रानी कुमारी तिवारी र सर्लाही १ (ख) बाट नेकपा एसकी बेची लुंगेली निर्वाचित भएकी हुन् । 

१०७ सदस्यीय मधेस प्रदेशसभामा प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ सदस्य छानिन्छन् । जसमध्ये ३५ जना महिला सदस्य अनिवार्य हुन्छन् । 

मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ एमालेले १५, कांग्रेसले १३, जसपाले ९, लोसपाले ७, जनमतले ६, नेकपा एस र माओवादीले ४/४ सिट जितेको छ भने ६ जना स्वतन्त्र निर्वाचित भएका छन् । 
समानुपातिकबाट कांग्रेसले ९, एमालेले ८, जनमत पार्टीले ७, जसपाले ६, माओवादीले ४, नेकपा एसले ३, लोसपाले २ र राप्रपा, नेपाल संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले १/१ सिट पाएका छन् । 

को-को बन्ने भए समानुपातिक सांसद ?



नेपाली कांग्रेसले मधेस प्रदेशसभामा समानुपातिकतर्फ पाएको ९ सिटमा ७ जना महिलालाई समावेश गर्नुपर्नेमा मधेसी कोटाबाट रेखा ठाकुर, जिवछीकुमारी यादव, इन्दुकुमारी साह र अञ्जना पण्डितको नाम छनौट गरेको छ । त्यस्तै, दलित कोटाबाट शकुन्तीदेवी महरा, मुस्लिमबाट नुरुन नेसा, जनजातिबाट मीनाकुमारी लामाको नाम छनौट गरेको छ भने मधेसी पुरुषबाट कुमरकान्त झा र राकेशकुमार सिंह समानुपातिक सांसद बन्ने भएका छन् । 

नेकपा एमालेले मधेस प्रदेशसभामा समानुपातिकतर्फ पाएको ८ सिटमा मधेसी महिलाबाट पल्टी देवी यादव, फुलो कुमारी देवी, विना देवी शर्मा र राजपतीदेवी जैसवालको नाम छनौट गरेको छ भने दलितबाट पल्टीदेवी महरा, मुस्लिमबाट जैनव खातुन, जनजातिबाट मञ्जुकुमारी थापामगर र पुरुषतर्फ मधेसीमा जयचन्द्र प्रसाद पटेललाई समानुपातिक सांसद बनाउन लागेको छ । 



जनमत पार्टीले पाएको समानुपातिक कोटाको ७ सिटमा मधेस प्रदेशसभामा मधेसी महिलाबाट बबिताकुमारी राउत इसर र अनिताकुमारी साहको नाम समावेश गरेको छ भने दलितबाट रञ्जुकुमारी मण्डल खंग, सपना दर्जी र पुरुष मधेसीबाट चन्दन कुमार सिंह, ऋषिकेश ठाकुर तथा दलितबाट सत्यनारायण खंग खत्वे सांसद बन्ने भएका छन् । 

उता, जसपाले पाएको समानुपातिक ६ सिटमा महिला मधेसीबाट विन्दुकुमारी यादव, किरणकुमारी साह र शोभादेवी देवलाई सांसद बनाउने भएको छ भने दलितबाट ललिता दास, मुस्लिमबाट शहिदा खातुन र मधेसी पुरुषबाट मनिषकुमार सुमनको नाम छनौट गरिएको छ । 

नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ पाएको ४ सिटमा मधेसी महिलाबाट सुनिता यादव र माला कर्णलाई सांसद बनाउन लागेको छ भने दलितबाट शारदा पहाडी तथा मधेसी पुरुषबाट झल्कु यादव सांसद बन्न लागेका छन् । 

नेकपा एकीकृत समाजवादीले पाएको ३ सिटमा मधेसी महिलाबाट सीताकुमारी देवी साह र मधेसी पुरुषबाट रत्नेश्वर गोइत यादव तथा सुरेन्द्रलाल कर्णलाई समानुपातिक सांसद बनाउने भएको छ । 

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिकतर्फ पाएको दुई सिटमा मधेसी महिलाबाट रुपाकुमारी यादव र दलितबाट अञ्जुदेवी बैठालाई सांसद बनाउने निर्णय गरेको छ । 

उता, राप्रपाले शम्भुप्रसाद यादव, नेपाल संघीय समाजवादी पार्टीले मोहम्मद मोसाहिद हुसेन र नागरिक उन्मुक्ति पार्टीले उर्मिलादेवी सिंहलाई समानुपातिक सांसद बनाउने भएको छ । 

मधेस प्रदेशमा एमाले, कांग्रेस वा जसपाले स्वतन्त्र उम्मेदवारलाई समेटेर आफ्नो नेतृत्वमा सरकार बनाउन सक्ने सम्भावना देखिन्छ ।
यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फोरम २९ सिटसहित पहिलो दल बन्दा राष्ट्रिय जनता पार्टी २५ सिटसहित दोस्रो र नेकपा एमाले २३ सिटसहित तेसो दल बनेको थियो ।

  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार १८:३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया