सीमामा तटबन्ध निर्माणका विषयमा नेपाल–भारतका अधिकारीबीच छलफल

नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच आज जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको हो ।

आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुंगामुढा भएको थियो । ढुंगामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते भएका थिए । सीमामा भारत पक्षले एकतर्फी महाकाली नदीको धार फर्किने गरी तटबन्ध निर्माण कार्य सुरु गरेपछि नेपालतर्फ खलङ्गाका स्थानीयहरूले आइतबार चर्को विरोध गरेका थिए ।

सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर अधिकारीहरूबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । छलफलमा दार्चुलाका प्रअजिअ उपाध्यायले तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै हानिनोक्सानी हुने गरी काम नगर्न आग्रह गरे । 
 
छलफलमा विवाद भएको ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने र विवाद नभएको ठाउँमा मात्र निर्माण गरिने सहमति भएको सहायक प्रजिअ हेमन्ती साउदको भनाइ छ । भारतीय पक्षबाट एडिएम र एसडिम उपस्थित भएका थिए भने नेपालका तर्फबाट सुरक्षा निकायका प्रमुखहरू राजनीतिक दलका पदाधिकारीहरूसमेत उपस्थिति रहेको थियो । 

भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्धभन्दा सातदेखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएको छ। सो ग्याविन जाली तत्काल हटाइदिन भारतीय अधिकारीलाई प्रजिअले आग्रह गरेका थिए । 

भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका थिए । स्थानीयवासीले तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग राखेका छन् ।





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार २१:२२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया