सातसूत्रीय मागसहित जनकपुरका नगरप्रमुख साहलाई ज्ञापनपत्र

जनकपुरधाम उद्योग वाणिज्य संघले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।
 
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा पुगेको टोलीले विभिन्न सात सूत्रीय मागसहित नगरप्रमुख साहलाई ज्ञापनपत्र बुझाएको हो ।
 
वाणिज्य संघले बुझाएको ज्ञापनपत्रमा नेपाल सरकारले कृषि क्षेत्र र गैर कृषि क्षेत्र तोकी नक्सांकन गर्ने भनेको लामो समय बित्दा पनि सोबमोजिम नक्सांकन नगरिएकोले जग्गाको कित्ताकाट रोकिँदा उद्योग व्यापार नराम्ररी प्रभावित भएकोले अविलम्ब नक्सांकन गरी पठाउने व्यवस्था गर्नुपर्ने, जनकपुरधामको नगर क्षेत्रमा कृषि बजारको अभाव रहेकोले एकीकृत कृषि बजार स्थापना गरिनुपर्ने, जनकपुरधाम उपमहानगरपालिकाको राजश्वमा वृद्धि गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र उद्योगमैत्री वातावरण निर्माण गर्न आफ्नै औद्योगिक क्षेत्र स्थापना गर्नुपर्नेलगायतका सुझाब समावेश गरिएको छ । 

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका प्रादेशिक राजधानीको रुपमा स्थापित भइसकेको अवस्थामा यस क्षेत्रमा ठूला स्टार होटलहरु स्थापना गर्न व्यवसायी आकर्षित भएकाले परिक्रमा सडक बाहिर पर्ने गरी ठूला र व्यवसायिक भवन निर्माणमा घरको उचाइसम्बन्धी मापदण्ड हटाउने व्यवस्था मिलाउनुपर्ने, जनकपुरधाम आफैँमा ऐतिहासिक संस्कृतिक नगरको पहिचान कायम राखेकोले एकीकृत वधशाला निर्माण गरी खुला रुपमा माछा, मासु बिक्री गर्ने नपाइने व्यवस्था गर्नुपर्ने, नगरभित्रको फोहोर व्यवस्थापनका लागि लामो समयदेखि सार्वजनिक महत्व र चासोको विषय ल्याण्ड फिल्ड साइट अविलम्ब निर्माण गर्नुपर्ने मागसमेत उद्योगी व्यवसायीले राखेका छन् । 

साथै जनकपुरधाम बजार क्षेत्र भित्रको सडकमा गरिने पार्किङलाई व्यवस्थित गरी एकतर्फि पार्किङ गर्ने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरी बाहिरबाट आउने पर्यटकका लागि पार्किङको व्यवस्था मिलाई जनकपुरधामका मठमन्दिरसम्मको पहुँच सहज बनाउनसमेत उनीहरुले माग गरेका छन् ।
 
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष महासेठले उक्त कार्यक्रमहरुको सञ्चालन र व्यवस्थापन गर्नका लागि पूर्ण ढंगले सहकार्य गर्नसमेत आफूहरु तयार रहेको बताए ।





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार २१:३७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया