कतारको अल जानोब रंगशालामा आज राति भएको खेलमा जापानले जित निकालेको भए उसले पहिलो पटक विश्वकपमा क्वार्टरफाइनलको यात्रा तय गर्ने थियो ।
तर, उसका तीन पेनाल्टी सुटआउट क्रोएशियाका किपर डोमिनिक लिभाकोभिकले रोकिदिए ।
विश्वकपमा पेनाल्टी सुटआउटमा तीन प्रहार रोक्नु चानचुने कुरा होइन । डोमिनिकले यसलाई सम्भव बनाएर एउटा रेकर्ड बनाएका छन् । उनी एउटै विश्वकपमा तीन पेनाल्टीहरु रोक्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि पोर्चुगलका रिकार्डोले २००६ मा इंग्ल्याण्डविरुद्ध र क्रोएशियाकै डानिजेल सुबासिकले डेनमार्कविरुद्ध २०१८ मा पनि तीन वटा पेनाल्टी रोकेका थिए ।
यो हारसँगै जापानको यो विश्वकप यात्रा पनि सकिएको छ ।
जापान सातौं पटक विश्वकपमा हुँदा फेरि यसअघिको जस्तै नियती दोहोरिएको छ । जापानले आजसम्म दुई तरिकाले मात्र आफ्नो विश्वकप यात्रा टुंग्याएको छ । उसले १९९८, २००६, २०१४ मा समूह चरणका सबैभन्दा तल रहेर विश्वकपको यात्रा तय गरेको हो भने २००२, २०१०, २०१८ र २०२२ मा अन्तिम १६ मा उसको विश्वकप यात्रा टुंङ्गिएको छ ।
निर्धारित समय र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएर पेनाल्टी सुटआउटमा जाँदा क्रोएशियाका लागि आफ्नै विगत सम्झाउने क्षण आएको छ ।
क्रोएशियाले २०१८ मा डेनमार्क र रुसविरुद्ध र २०१० मा पाराग्वेविरुद्धका पेनाल्टी सुटआउटमा जित निकालेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।