नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा संघीयता रहने वा नरहने भन्ने प्रश्नकाे जवाफ अबको ५ वर्षपछि थाहा हुने बताएका छन् । विराटनगरमा आयाेजित पुस्तक विमोचन कार्यक्रममा बाेल्दै थापाले यस्तो बताएका हुन् ।
प्रदेश सरकार रहने वा नरहने भन्ने पाँच वर्षमा प्रष्ट हुने दाबी गर्दै उनले भने, ‘प्रदेशले ५ वर्षभित्रमा आफ्नो औचित्य पुष्टि गर्न सकेन भने प्रदेश हामीले बचाएर बच्दैन जनस्तरबाटै आवाज उठिहाल्छ ।’
कांग्रेस नेता गुरु घिमिरेकाे पुस्तक विमाेचन गर्दै उनले घिमिरेले चुनाव हार्दा प्रदेशले राम्रो मान्छे मिस गरेको बताए । प्रदेशलाई बलियो बनाउन उनीजस्ता नेताको खाँचो रहेको थापाकाे भनाइ थियो ।
कांग्रेसले ५ वर्षको सरकार राम्रो चलाए अहिलेको जस्तै २७ प्रतिशतको नभइ ४० प्रतिशतको आकारमा पार्टी पुग्ने उनले बताए । उनले ५ वर्षको सरकार चलाउने भन्दा पनि के गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।