प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार, सागर ढकालले बुझाएनन्

डडेल्धुराका उम्मेदवारहरुले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन् । डडेल्धुरा निर्वाचन कार्यालयमा प्रत्यक्ष तर्फका २० मध्ये १४ जनाले खर्च विवरण बुझाएको  निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए । 

अहिलेसम्म प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादर देउवाका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले भने निर्वाचन खर्च बुझाएका छैनन् ।

देउवाले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका छन् । प्रचार सामाग्री छपाई, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालन लगायतका सात शीर्षकमा २६ लाख १२ हजार खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको हो ।

यस्तै, नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उमेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, विक्रमबहादुर शाहीले २ लाख २ हजार एक सय ९० र राप्रपा उमेदवार गोविन्द खडायतले ४ लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन् । यस्तै, दुई प्रदेश निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभा तर्फका ८ जना उम्मेदवारले पनि निर्वाचनमा भएको खर्चको विवरण बुझाएका छन् ।

हरेक राजनीतिक दलबाट बन्द सूचीमा रहेका समानुपातिक उम्मेदवारमध्ये राप्रपा उम्मेदवार सरिता रैसालले मात्र २ लाख ४० हजार निर्वाचन खर्च भएको विवरण कार्यालयमा छ । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख अवस्थीका अनुसार डडेलधुरामा प्रतिनिधिसभातर्फ ३१ लाख, प्रदेश (१)को लागि २१ लाख र प्रदेशसभा ९२० को लागि १९ लाख खर्चको सीमा तोकिएको थियो ।



यसअघि शेरबहादुर देउवाको चुनावी खर्चको तथ्यांक अन्यथा पर्न गएकले सच्याइएको छ । सम्पादक



  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १८:११:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया