प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । गत १ फागुनमा ९८ जना सांसदले प्रस्ताव दर्ता गरेको उनीविरुद्धको महाभियोगको प्रस्ताव निष्क्रिय भएको हो ।
संसदका महासचिव डा. भरतराज गौतमबाट आफूले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाइसकेकाे जबराले बताए । योसँगै अब उनीमाथिको निलम्बन हटेको छ ।
जबरा आजै सर्वोच्च अदालत फर्किने तयारीमा छन् । जबरा सर्वोच्च आउने सूचनासँगै सर्वोच्च आसपासमा सुरक्षा उपस्थिति बढाइएको छ ।
ढिलोगरी प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस गरेको र छिनोफानो हुनुअघि नै तत्कालीन प्रतिनिधिसभा विघटन भएको थियो । जसकारण जबराविरुद्धको महाअभियोग प्रस्ताव अलपत्र परेको थियो ।
जबराविरुद्ध महाअभियोगमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेको, सर्वोच्च अदालत लगायत न्यायपालिकाभित्रै उनको कार्यकालमा अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा बिचौलियाले प्रवेश पाएको लगायतका २१ वटा आरोप छन् ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सांसदहरूले शपथ खाने र संसद बैठक बस्नुअघि नै एक सातापछि जबराले अनिवार्य अवकाश पाउँदै छन् ।
एक सातापछि उनी ६५ बर्से उमेर हदका कारण सेवा निवृत्त हुँदै छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।