हायु जातिमा जोडी पाउनै मुस्किल

गाईघाट– नेपालमा नै अल्पसंख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोवास गर्दै आएका अल्पसंख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना परम्परागत जातिगत विवाहमा समस्या देखिन थालेको छ । 

कटारी नगरपालिका–१० सिरवानीमा बसोवास गर्ने पाँच घर हायु र त्रियुगा नगरपालिका–१६ सुकौरामा बसोवास गर्ने दुई घर मात्र हायु रहेको उदयपुरमा अहिले हुर्केका छोरा तथा छोरीमा परम्परागत जातीय विवाह गर्न समस्या आउन थालेको स्वयं हायुका बुढापाका बताउँछन् । 

कटारी सिरवानीका ७० वर्षीय पञ्चमान हायुले भने, ‘आफूहरूको पुर्ख्यौली थलो रामेछाप हुँदै पुर्खा उदयपुर आइपुगे, पहिला–पहिला त दुईथरीका हायु भएका कारण विवाह चलाइयो, अब भने एक–अर्कामा मामा, भान्जा–भान्जी पर्न थालेपछि युवायुवतीको विवाहमा समस्या आउन थाल्यो ।’ 

सिरवानीकै अर्का तेजबहादुर हायुका अनुसार उदयपुरमा अहिले दुईथरीका बालुङ्लोचा र कमालोचा जातिका हायु बसोवास गर्दै आएका छन् । जम्मा सातघर हायु परिवार रहेकोमा पहिला–पहिला यी दुई हायुबीच विवाहवारी चले पनि अहिले भने दुवैको छोराछोरी नाता कुटुम्बको कारण भन्जाभान्जी, मावली दाजुभाइ, दिदीबहिनीलगायत प्रत्यक्ष साइनो परेका कारण विवाह नचल्ने भएको हो । त्यसकारण जिल्लाभित्र विवाह गर्न समस्या हुन थालेको कटारी सिरवानीका तेजबहादुर बताउँछन् । 

सुकौराका बद्री हायुका अनुसार आफूहरू पहिला मकवानपुरदेखि उदयपुर आए पनि उदयपुरको बालुङलोचा हायुसँग ससुराली सम्बन्ध भएपछि छोराछोरीको मावली परेका कारण उनीहरूको छोराछोरीसँग आफूहरूको छोराछोरीको विवाह नचल्ने बताउँछन् । 

अल्पसंख्यक रूपमा बसोवास गर्दै आएका उदयपुरका केही हायुका छोराछोरीले अहिले जिल्लाभित्र आफ्नो जातिसँग विवाह गर्न नभएपछि अन्तरजातीय विवाह गर्न थालेकाले जिल्लाबाट नै भविष्यमा आफूहरूको जातिको अस्तित्व नै हराउने त होइन भन्ने चिन्ताले सताएको बद्री हायु बताउँछन् । 



छोराछोरीको विवाहको विषयमा सुकौराका ६० वर्षीया कमला हायु भन्छिन, ‘छोरीले अन्तरजातीय केटासँग विवाह गरिन्, छोराले पनि यसै गर्छ भनेर भर्खरै टाढा सिन्धुलीसम्म पुगेर बल्ल एउटा आफ्नै जातको बुहारी भित्र्याउन सफल भएका छौँ ।’ 

अब जिल्लाभित्र केटाकेटीमा विवाह नभएपछि छोराछोरीको अस्तित्व जोगाउन पनि अहिले बुहारी तथा ज्वाइँ खोज्न टाढाको बाहिर जिल्ला जान बाध्य हुन परेको सुकौराकै शंकर हायु बताउँछन् । नेपाल आदिवासी तथा जनजाति महासंघ उदयपुरका अध्यक्ष केशव मगरका अनुसार उदयपुरमा अहिले सात घर हायु रहेको र उनीहरूको संख्या झन्डै ५५ जना रहेको छ । 



वर्तमान अवस्थामा हायुको मुख्य थलो रामेछाप, मकवानपुर, सिन्धुली, काभ्रे, ओखलढुंगा, भोजपुरलगायत जिल्लामा मात्र रहेको उदयपुरका हायु परिवार बताउँछन् । अहिले उदयपुरका हायुमा आफ्नो जातिको अस्तित्व संंकटमा परेकाले अस्तित्व बचाउन नै चुनौती हायु बताउने गर्दछन् । 

हुर्केका छोराछोरीले जिल्लाभित्र विवाह गर्ने जोडीसमेत पाउन छाडेपछि छोराछोरीको विवाह गर्न जोडी खोज्न ओखलढुंगा, सिन्धुली, काभ्रे वा मकवानपुरसम्म पुग्नुपर्ने बाध्यता रहेकोसमेत हायु बताउँछन् । परम्परागत खेतीपाती गरेर जीवन गुजारा गर्दै आएका उदयपुरका अल्पसंख्यक हायुमा अहिले छोराछोरी हुर्केपछि जोडी खोजेर विवाह गरिदिने र आफ्ना जातीय अस्तित्व बचाउने समस्या र चिन्ताले नै बढी सताएको हायु अगुवाको गुनासो छ । 

  • प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार १३:२७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया