लोपको संघारमा मौरी, हानिकारक किराको प्रकोप बढ्दै

वैज्ञानिकहरुको एक अध्ययनले विश्वमा किराका ४० प्रतिशत प्रजाति घट्दाे क्रममा रहेको देखाएकाे छ । अध्ययनका अनुसार मौरी, कमिला र बिटल अन्य स्तनधारी जीव, पंक्षि र सरीसृपको तुलनामा ८ गुणाले घटिरहेका छन् । 

अनुसन्धानकर्ताका अनुसार झिंगा र साङलाका केही प्रजातिको संख्या बढ्ने सम्भावना रहेको छ । 

पृथ्वीमा रहेका जीवमध्ये सबैभन्दा धेरै संख्या किराकाे छ । यिनीहरु मानिस र अन्य प्रजातिका लागि फाइदाजनक छन् । 

किराहरु चराचुरुङगी, चमेरो तथा साना स्तनधारी जीवका आहारा हुन् । किराहरु विश्वमा ७५ प्रतिशत बाली परागसेचनका लागि जिम्मेवार छन् । यी कृषिका लागि पनि निकै महत्वपूर्ण छन् । यिनीहरुले माटोलाई उर्वर बनाउँछ, र हानिकारक किरालाई नियन्त्रित गर्छ । 

विशेष गरी विकसित देशहरुमा मौरीजस्ता जीवका प्रजातिको संख्यामा कमि आएको अध्ययनले देखाउँछ ।  

बायोलोजिकल कन्जरभेसन जर्नलमा प्रकाशित यो लेखमा पछिल्लो १३ वर्षमा विश्वको विभिन्न भागमा गरिएका ७३ अनुसन्धानबाट आएका नतिजाको समीक्षा गरिएको थियो । 



सबै ठाउँमा किराको संख्यामा कमी आएका कारण केही दशकमा ४० प्रतिशत किरा हराउने छन् । किराको एक तिहाई प्रजाति खतरामा रहेको वैज्ञानिकले घोषणा गरेका छन् । 

सिड्नी विश्वविद्यालयसँग सम्बन्ध राख्ने मुख्य लेखक डाक्टर फ्र्यासिस्को सेन्सेज बायोले किराहरुको संख्यामा कमी आउनुको मुख्य कारण उनीहरुको आवासमा क्षती पुग्नु रहेको बताउँछन् । खेतीपाती, शहरीकरण, वन फँडानी आदिका कारण किराको बासस्थानमा क्षती पुगेको उनको भनाइ छ । 



अर्को मुख्य कारण कीटनाशक औषधिमा प्रयोग हुने विषाक्त रसायनले पनि किराहरुलाई असर गरेको छ । यस्तै अन्य हानिकारक किराफट्याङग्राले अर्को ठाउँमा पुगेर आक्रमण गरेर नोक्सान पुर्याउँदा पनि किराको संख्या घटेको छ । 

त्यस्तै जलवायु परिवर्तनको असरले पनि किराका प्रजाति घटेका छन् । खासगरी उष्णमनसुनी हावापानी भएको क्षेत्रमा यसको प्रभाव धेरै पर्छ । 

अध्ययनमा जर्मनीमा उड्ने किराको संख्यामा अहिले तीव्र रुपमा गिरावट आएको उल्लेख गरिएको छ । क्यारेबियन क्षेत्रमा पनि किराको संख्या घटेको छ, जसमा पृथ्वीमा बढिरहेको तापक्रम मुख्य कारण मानिएको छ । 

अन्य विशेषज्ञका अनुसार अध्ययनको नतिजा निकै गम्भीर छ । बेलायती समूह बगलाइफका म्याट सार्डलो भन्छन् ‘चिन्ता केवल मौरीको मात्र होइन, यो परागसेचन र हाम्रो खानेकुरासँग पनि जोडिएको छ । नदि र ताल क्षेत्रमा उड्ने ड्र्यागनफ्लाइजसँग पनि यो जोडिएको छ ।’ 

अध्ययनबाट यो स्पष्ट हुन्छ, हाम्रो ग्रहको पर्यावरण खराब भइरहेको छ । यो दिशामा पुरै विश्व मिलेर गम्भीर कदम उठाउन जरुरी छ, यसको क्षती रोक्ने मात्र होइन, दीर्घकालीन समाधान खोज्नुपर्छ । 

अध्ययनमा सहभागी वैज्ञानिकका अनुसार किराको संख्यामा कमी आउँदा अन्य जीवको खानेकुरा श्रृङखला प्रभावित हुन्छ । चरा, सरिसृप र माछाका कतिपय प्रजातिहरु खानाका लागि यी किरामा निर्भर छन् । यी किरा लोप हुँदा यीसँग आश्रित अन्य जीव पनि संकटमा पर्छन् । 

केही महत्वपूर्ण किरा लोप हुने अवस्थामा पुगीसकेका छन् तर केही प्रजातिका हानिकारक किरा परिवर्तनसँगै फैलिने अवस्थामा पनि छन् । 

ससेक्स युनिर्भसिटीका प्रोफेसर डेव गल्सन भन्छन् ‘तातो हावापानीका कारण छिटो प्रजनन हुने किराको संख्यामा वृद्धि हुन्छ, उनीहरुकाे संख्या तीव्र बृद्धि हुन्छ र ढिलो प्रजनन हुने लोप भएर जान्छन् ।’

उनी भन्छन्, हानिकारण किराफट्याङग्राको संख्या बढीरहेको छ, र जसमा मौरी, पुतलीजस्ता उपयोगी किराहरु लोप हुने अवस्थामा  छन् । 

उनका अनुसार झिंगा, साङला जस्ता प्रजाति बढिरहेका छन्, यिनीहरु हावापानीअनुसार आफूलाई पनि परिवर्तन गर्न सक्छन् । यस्ता प्रजातिका किरामा कीटनाशकप्रति प्रतिरोधक क्षमता पनि हुन्छ । 

‘यो अवस्थाबाट किरालाई बचाउन आफ्नो बगैंचा किराअनुकुल बनाउनु पर्छ र कीटनाशकको प्रयोग कम गर्नुपर्छ, यतिसम्म हामीले गर्न सक्छाैं उनी भन्छन् । 

अर्गानिक खानेकुराको प्रयोगलाई प्राथमिकता दिने हो भनेपनि केही हदसम्म यी किरालाई लोप हुनबाट बचाउन सकिने प्राफेसर डेवको भनाइ छ । 

  • प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार १४:८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया