राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् ।
उधौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विभिन्न जातजाति र समुदायको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले नेपालीको साझा पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको उल्लेख गरेकी छन् ।
उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसपर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
‘किराँत समुदायका मूलतः राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाइ पितृपूजा गर्नुका साथै राम्रो फसलको लागि भूमिप्रति आभार प्रकट गर्दै भित्र्याइएका अन्नबालीमा घुन–पुतली नलागोस् र सहबनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ । उधौली पर्वको अवसरमा परम्परागत वेषभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्ने प्रचलनसमेत रहेको छ,’ राष्ट्रपति भण्डारीले भनेकी छन् ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्ने उल्लेख गर्दै उनले यस पर्वले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको बताएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।