विश्वकपमा अर्जेन्टिना र नेदरल्याण्ड्स खेल्दै, यस्तो छ ‘हेड टु हेड’ नतिजा

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्स खेल्दैछन् । यी दुई टोलीबीचको भिडन्त आज राति पौने १ बजे लुसेल स्टेडियममा देख्न पाइनेछ । 

नकआउट चरणमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ र नेदरल्याण्ड्सले अमेरिकालाई ३–१ ले पराजित गरेका थिए । लयमा रहेकाले यी दुई टोलीको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ । 

हालसम्म तीनपटक विश्वकप फाइनल पुगे पनि नेदरल्याण्ड्स उपाधि हात पार्न सकेको छैन । ऊ सन् १९७४ मा वेस्ट जर्मनी, सन् १९७८ को फाइनलमा अर्जेन्टिना र सन् २०१० को विश्वकप फाइनलमा स्पेनसँग पराजित भएको थियो ।  

अर्को दक्षिण अमेरिकी देश अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप जितेको थियो । ऊ सन् १९३० मा भएको विश्वकपको पहिलो संस्करणको उपविजेता टोली हो । अर्जेन्टिनाले अहिलेसम्म विश्वकपमा ८१ खेल खेलेको छ । जसमा उसले ४७ मा जित, १० मा बराबरी र २४ खेलमा हारको सामना गरेको छ ।

नेदरल्याण्ड्स र अर्जेन्टिनाले अहिलेसम्म ९ खेलमा एकअर्कोको सामना गरेका छन् । जसमा नेदरल्याण्ड्सले चार र अर्जेन्टिनाले तीन जित निकाल्दा दुई खेल बराबरीमा सकिएका छन् ।   

विश्वकपको कुरा गर्दा १९७४ को विश्वकपमा नेदरल्याण्ड्सले अर्जेन्टिनालाई ४–० ले हराएको थियो । १९७८ को विश्वकपमा भने नेदरल्याण्ड्सविरुद्ध अर्जेन्टिना ३–१ विजयी भयो । १९९८ को विश्वकपमा नेदरल्याण्ड्सले अर्जेन्टिनालाई २–१ ले हरायो । 



सन् २००६ को विश्वकपमा दुवै टोलीले गोलरहित बराबरी खेले । विश्वकपअन्तर्गत सन् २०१४ को पछिल्लो भेटमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो ।  

आज नै हुने पहिलो खेलमा ब्राजिल र क्रोएसियाले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल शुक्रबार एजुकेसन सिटी स्टेडियममा  राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।   



  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार ७:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया