हेटौंडामा पनि नेपथ्यले राम्राे साथ पाएको छ । विराटनगर र वीरगञ्जमा भव्य सफलता आर्जन गरेर हेटौंडा आइपुगेको नेपथ्यको टाेलीले न्यानाे साथ पाएको हो ।
तेस्रो कन्सर्टमा ब्यान्डले उसको ‘मेन्यू’ मा केही परिवर्तन गरेको थियो । अघिल्लो दुवै आयोजनामा ‘भेडाको ऊनजस्तो’ बाट सुरु गरेको कन्सर्टभन्दा हेटौंडामा नेपथ्यले अलिक सुस्त गतिको गीतबाट आफूलाई प्रस्तुत गर्यो ।
हेटौंडामा गाइएको प्रारम्भिक गीत नेपथ्यको आफ्नै इतिहासमा पनि पहिलो रचना थियो ।
‘आँगनै भरि हिउँ नै झरे
आरु फूल है टिपी राख्नू’
स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरू देखाइएको थियो । गीत अघि बढ्दै जाँदा ब्यान्डले बितेका ३३ वर्षमा गरेको यात्राका झलक आउनेगरी तस्बिरहरूको संयोजन गरिएको थियो ।
ब्यान्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाइरहँदा पूर्णिमाको जूनले हेटौंडाको मनकामना डाँडाबाट आफूलाई विस्तारै मास्तिर उकाल्दै लगेको मनोरम दृश्य देखिन्थ्यो ।
ब्यान्डका गायक तथा अगुवा अमृत गुरुङको नजर पनि आकाशतिरै परेछ । ‘यो जुनेली रातलाई अझ रमाइलो बनाउनका निम्ति म तपाइँहरूलाई लमजुङतर्फ लैजान चाहन्छु,’ उनले थपे, ‘म रोदीघर तिर तपाइँहरूलाई डुलाउन चाहन्छु ।’
त्यसपछि उनले सुरु गरे :
‘खान्न म त लामपाते सुरती
लाउँ कि नलाउँ जुग जाने पिरती’
त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरू ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएको थियो । ‘म धेरैपटक हेटौंडा आएको छु,’ अमृतले दर्शकलाई सोधे, ‘के तपाइहरु पोखरा जानुभएको छ ? त्यसभन्दा अलिक पर जोमसोम जानुभएको छ ? धौलागिरि जानुभएको छ ?’
दर्शकहरूलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले त्यसपछि धौलागिरितिरै तयार पारिएको गीत सुनाएः
‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलागिरिमा’
कार्यक्रम अवधिभर गायक गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्न पुगेका मुलुकभरका नागरिकको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो ।
यसै क्रममा ब्यान्डको अर्को सर्वकालीन हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवको तस्बिर देखाइएको थियो ।
हेटौंडाको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइटा बसमार्फत् नारायणघाटतर्फ प्रस्थान गरेको । मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित क्याम्पा चौरमा नेपथ्य २५ मंसिरमा प्रस्तुत हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।