माया खोला हाइड्रोपावरको आइपिओ खुला, यसरी दिनुहोस् आवेदन

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । 

कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कूल १० लाख कित्ता शेयर छुट्याएको छ । त्यस्तै, सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशत अर्थात् दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेकाहरूका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने शेयरमध्ये ६० प्रतिशत अर्थात छ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र सङ्खुवासभाको चैनपुर नगरपालिका–८ र ९, धर्मदेवी नपा–३, ४ र ५ तथा मादी नपा–४ र ६ का बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै आयोजना अति प्रभावित क्षेत्र बाहेक सङ्खुवासभाको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि ४० प्रतिशतले हुने चार लाख कित्ता शेयर निष्कासन गरिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।  

निष्कासित शेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस ८ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे पुस २४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सक्ने छन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेकाहरूले पुस ८ गतेसम्म अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।  

कम्पनीले निष्कासन गरेको शेयरमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले अनलाइनबाट समेत आवेदन दिन सक्ने छन् । स्थानीय बासिन्दाले कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले निर्माण गरेको वेब पोर्टलमार्फत शेयरमा आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।  





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार ११:२०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया