काठमाडौं– नेपाली कांग्रेससम्बद्ध विद्यार्थी संगठन नेवि संघको केन्द्रीय कार्यसमिति भंग भएको छ ।
मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले नेवि संघको वर्तमान कार्यसमितिको कार्यकाल नथप्ने निर्णय गरेसँगै नैनसिंह महर नेतृत्वको कार्यसमिति स्वतः भंग भएको हो ।
दुई वर्षअघि निर्वाचित नेवि संघ केन्द्रीय कार्यसमितिको म्याद सकिएपछि माउपार्टी कांग्रेसले अधिवेशन गराउनका लागि भन्दै दुई महिना म्याद थपेको थियो । थपिएको म्याद अधिवेशन नगराइकनै गुज्रिएपछि भने वर्तमान समिति भंग गरेर तदर्थ समिति बनाई अधिवेशन गराउने कि अझै केही समय दिने भन्नेमा पार्टीभित्र विवाद देखिएको थियो ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवै थप म्याद नदिने पक्षमा थिए भने पार्टीभित्र थर्ड पोलको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौला अझै म्याद थपेर यही समितिलाई अधिवेशन गराउन दिनुपर्ने अडानमा थिए ।
सभापति देउवाको दबाबपछि नेवि संघ अध्यक्ष नैनसिंह महरले सोमबार राजीनमा गरेका थिए । यसअघि नै म्याद थप्न नहुने र तत्काल अधिवेशन गर्नुपर्ने माग गर्दै ७ जना पदाधिकारीले राजीनामा दिएका थिए ।
कार्यसमिति भंग भएसँगै तदर्थ समिति बनाउने बाटाे खुलेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।