कमल थापालाई प्रश्न - सत्ता स्वार्थकै लागि तपाईँमा यति धेरै विचलन देखिएको हो ? [अन्तर्वार्ता]

राजनीतिका चर्चित नाम कमल थापा छैटौँपटक मकवानपुरबाट पराजित भए । पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले आठौँपटकको निर्वाचन प्रक्रियामा नेकपा एमालेको सूर्य चिन्हबाट उम्मेदवारी दिएका थिए । ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा थापा आफ्नै गृह जिल्ला मकवानपुर–१ मा  पराजित भए ।

यसअघिका निर्वाचनमा ६ पटकसम्म पराजित भएका उनले दुईपटक मात्रै जनताबाट अनुमोदित भएर सांसदको स्वाद चाख्न पाए । आफ्नो पार्टीको जनमत नभएपछि जिल्लाकै ठूलो दल एमाले रोजेका थापालाई सूर्य पनि फापेन ।

निर्वाचनअघि सूर्यले आफूलाई जिताउँछ भनेर ठोकुवा नै गरेका उनी तेस्रो भए । आफ्नो प्रतिस्पर्धी नै नमानेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह विजयी हुँदा थापाले लज्जास्पद हार बेहाेरे । प्रस्तुत छ उनै थापासँग समसामयिक विषयमा फरकधारकर्मी सुनिता विष्टले गरेको कुराकानीको सम्पादित अंश : 

प्रतिनिधि सभा निर्वाचनमा पराजित हुनुभयो । अहिले के गर्दै हुनुहुन्छ ?

निर्वाचनको पराजय पछि पार्टीको केन्द्रीय सचिवालय बैठक बसेर हामीले निर्वाचनको समीक्षा गर्‍यौँ । पार्टीलाई आगामी दिनमा कसरी सशक्त ढंगबाट अगाडि बढाउने भन्ने बारेमा अहिले विचार विमर्श गरिराखेका छौँ । 

एमालेको सूर्य चिन्हले जिताउँछ भन्नेमा विश्वस्त हुनुहुन्थ्यो । तर, मत परिणाम उल्टो आयो, यसलाई कसरी लिनुभएको छ ?



म आश्चर्य चकित भएको छु । वास्तवमा एक त मकवानपुर जिल्लामा हामीले विकास निर्माणको धेरै काम गरेका छौँ । जस कारण पनि जनताबाट मैले माया, सद्भाव, स्नेह पाउने आस गरेको थिएँ । खास गरी पछिल्लो कालखण्डमा हेटौंडालाई बागमती प्रदेशको राजधानी बनाउने र हेटौंडामा नयाँ प्रदेश स्तरीय औद्योगिक क्षेत्रको स्थापना गर्ने, धरान चतरा हुँदै हेटौंडा आइ पुग्ने सडक निर्माणको लागि हामीले महत्त्वपूर्ण भूमिका खेलेका थियौँ । जसले गर्दा मकवानपुरका जनताको जीवनस्तरमा उल्लेखनीय सुधार पनि आयो ।

 त्यसकारण पनि जनताबाट समर्थनको अपेक्षा मैले गरेको थिएँ । त्यसको साथसाथै मकवानपुरमा ३० वर्षसम्म एकछत्र राज्य गरेको सबैभन्दा ठूलो पार्टी नेकपा एमालेको सहयोग र एमालेकै चुनाव चिन्ह लिएर गएको कारण पनि यो चुनावमा म निश्चित रूपले म विजयी हुन्छु नै भन्ने सोचाइ थियो । तर परिणाम जे आयो त्यसबाट म अचम्ममा परेको छु । अझै पनि मैले यसबारे बुझ्न सकेको छैन । 



तपाईँले तपाईँकै शब्दमा प्रतिस्पर्धी नै नमान्नु भएको दीपक सिंह विजयी हुँदा उहाँको जितलाई कसरी लिनुभएको छ ? 

दीपक बहादुर सिंहको विजयबाट म खुसी छु । किनभने मैले भाइ सरह उसलाई राजनीतिमा अघि बढाउने भूमिका खेलेको मान्छे हुँ । अहिले आएर जुनसुकै परिस्थितिमा होस्, उसले विजयी हासिल गरेकोमा म व्यक्तिगत रूपमा खुसी नै छु । र त्यसै गरी देशभर पनि राप्रपाले राम्रो सफलता प्राप्त गरेको छ । त्यसलाई पनि मैले सकारात्मक नै लिएको छु । वैचारिक कारणले गर्दा पाटीबाट अलग हुन म बाध्य भए पनि विगतमा मैले नै सुरु गरेको विचार मान्यताबाट पार्टीले सफलता हासिल गरेको छ । त्यसबाट म खुसी छु । उनीहरूको थप सफलताको शुभकामना पनि दिन्छु । 

राप्रपा नेपालले देशैभर पनि समानुपातिकको मत राम्रो ल्याउन सकेन, तपाईँको लोकप्रियता हराउँदै गयो नि ? 

देशभरी राप्रपा नेपालले अत्यन्तै कम मत प्राप्त गर्‍यो भन्ने प्रश्न छ । वास्तवमा त्यो स्वाभाविक नै थियो । म पार्टी अध्यक्ष नै सूर्य चिन्ह लिएर चुनावमा खडा भइ सकेपछि, मैले नै सूर्यमा मत दिन सार्वजनिक रूपमा आव्हान गरेपछि त्यसको प्रभाव देशभर रूपमा परेको छ । र देश भरबाट प्राप्त जानकारीका अनुसार सूर्य चिन्हमा नै राप्रपा नेपालका मतदाताहरूले मतदान गर्नुभएको छ भने कतिपय ठाउँमा हलो चिन्हमा मतदान गरेका छन् । राप्रपा नेपालको तीर चिन्हमा त जति मत आएको छ । यो त एक प्रकारले भन्ने हो भने तीर चिन्हमा अप्रत्याशित रूपमा आएको मत हो यो । 

सत्ता स्वार्थकै लागि तपाईँमा यति धेरै विचलन देखिएको हो ?

यो चाहिँ ठ्याक्कै गलत आरोप हो । मलाई आश्चर्य लाग्छ पटक/पटक मलाई यस्तो आरोप लाग्ने गर्छ । मलाई कुनै पदको स्वार्थ भएको भए म राप्रपा छोड्ने नै थिइँन नि । राप्रपामै रहेर व्यक्तिगत स्वार्थ त पूरा गर्न सक्थेँ । पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले मलाई सम्मान नै गर्नुभएको थियो । उहाँले मेरो घरमै आएर पार्टी नछोड्नको निमित्त अनुनय विनय गर्नुभएको थियो । उहाँले मलाई दाइले चुनाव लड्न पनि पर्दैन । 

समानुपातिकमा रहेर भोलिको दिनमा संसदीय दलको नेतृत्व लिनुस् भन्नु पनि भएको थियो । मलाई स्वार्थ भएको भए यो कठिन र चुनौतीपूर्ण बाटोमा हिँड्ने थिइन नि । यति मात्रै होइन विगतमा बहुदलीय व्यवस्था आइसकेपछि कांग्रेस र एमाले नयाँ शक्तिको रूपमा उदाइरहेको थिए । दुवैले मलाई पार्टीमा आउनका निमित्त अनुरोध गरेका पनि थिए ।

 तर मैले त्यो बेलाको प्रतिकूल अवस्थामा राप्रपा स्थापना गरेर अघि बढ्ने काममा सघाएँ । मैले २०६३ सालपछि सिङ्गो मुलुक गणतन्त्रमय भएको बेलामा म विपरीत धारमा उठेर राजनीति गरेँ । यी कुराहरूबाट पनि प्रमाणित हुन्छ सत्ताको स्वार्थ छ कि छैन भन्ने कुरा । 

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि तपाइँले किन राप्रपा नेपाल ब्यूँताउनु भयो त ? 

म राप्रपाको अध्यक्षमा पराजित भएपछि राप्रपाबाट अलग भएको होइन । म पराजित भएपछि त तत्काल मैले राजेन्द्रलाई अध्यक्षको रूपमा स्वीकार गरेर, स्वागत समर्थन गरेँ, बधाई पनि दिएँ । त्यसपछि पार्टीभित्रै रहेर मेरो जुन सैद्धान्तिक मान्यता थियो, त्यो मान्यताको बारेमा उहाँलाई सचेत गराएँ । 

पार्टीभित्र एक प्रकारको सैद्धान्तिक विचलन देखियो । त्यो विचलनलाई हर सम्भव प्रयास गरेँ । दुई पटक लेखेर दिएँ । भेटेर कुराकानी गरेँ । केन्द्रीय कार्य समितिहरूमा त्यो कुरा उठ्यो । तर ती सबैहरूको ब्यवास्ता भएपछि ४ महिना पछाडि म पार्टीबाट अलग भएको हो । अध्यक्ष हुन नपाएपछि राप्रपा छोडेको भन्ने आरोप नै तथ्य सङ्गत छैन । यो गलत आरोप हो । 

छैटौँपटक निर्वाचन प्रणालीमा पराजित हुनुभएको छ । यसले अब तपाईँको राजनीतिक यात्रामा पूर्णविराम लाग्छ कि लाग्दैन ?

जहाँसम्म यो निर्वाचनको प्रश्न छ । मैले निर्वाचनकै दौरानमा पनि भनिसकेको छु, प्रत्यक्ष तर्फ यो नै मेरो अन्तिम चुनाव हो भनेर । त्यसैले गर्दा मैले अब तत्काल चुनाव लड्ने सोचाइ बनाएको छैन । यद्यपि मेरो आफ्नो पार्टी छ । मेरो पार्टीको अलग पहिचान छ, विचार छ । अब त्यसलाई कसरी संरक्षण गर्ने र मेरो आव्हानमा देशभरबाट मलाई साथ दिने कार्यकर्ता साथीहरूको भविष्य कसरी सुरक्षित गर्ने भन्ने नै मेरो सबैभन्दा चिन्ताको विषय छ । म त्यसैलाई ध्यान दिइराखेको छु । 

पछिल्लो समय तपाईँले सामाजिक सञ्जालमा एमाले र कांग्रेस मिलेर सरकार बनाउन पर्ने अभिव्यक्ति दिई रहनुको तात्पर्य के हो ? एमालेसँगको मोह बढेको हो ? 

मेरो पार्टी सानो भएता पनि वा म चुनावमा पराजित भएको भएता पनि देश र जनताको हितबाट म निरपेक्ष रहन सक्दिनँ । अहिले देश संकटको भुमरीमा परेको छ । बाह्य शक्तिको चलखेल र हस्तक्षेप तीव्र रूपले बढेर गएको छ । नेपाल अन्तर्राष्ट्रिय महाशक्तिहरूको रणनीतिक प्रतिस्पर्धा स्थल बन्न सक्ने खतरा छ । 

संविधान माथि नै संकटको स्थिति छ । व्यवस्था नै धरासायी हुनसक्ने अवस्था पनि छ । देशमा भ्रष्टाचार व्यापक भएको छ । अर्थतन्त्र कमजोर भएको छ । यो अवस्थामा देशलाई बलियो सरकारको आवश्यकता छ । स्थिर राजनीतिक वातावरणको आवश्यकता छ । त्यो बलियो सरकार दिन सक्ने, स्थिरता कायम गर्न सक्ने अहिलेको अवस्थामा देशका दुई प्रमुख दलहरू बीचको सहकार्यबाट नै हुन्छ भन्ने मेरो निष्कर्ष हो । यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ होइन । राष्ट्रको हित चाहेको हुँ । 

  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार १३:४८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया