नयाँ सरकार गठन गर्न कसलाई छ सहज ?

प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एक साता हुन लाग्दा पनि दलहरूले सरकार गठनलाई सामान्य आकार दिन सकेका छैनन् । कस्तो र कसरी सरकार गठन गर्ने भन्ने मै नेताहरू अलमलमा छन् ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सकेनन् । जसकारण गठबन्धन सरकार बन्ने निश्चित छ । प्रचलित संविधानको धारा ७६(२)अनुसार सरकार गठन हुने भएको छ । तर, हालसम्म कुनै पनि दलले सरकार गठनका लागि आवश्यक पर्ने साधारण बहुमत १३८ सांसदको समर्थन जुटाउन सकेका छैनन् । 

सत्तारुढ गठबन्धनभित्र सरकार गठनका विषयमा एक मत छैन । गठबन्धनको नेतृत्व गरेको कांग्रेसभित्रै नयाँ सरकारको नेतृत्व लिन विषयमा पनि एकमत छैन । माओवादी नयाँ सरकार गठनमा पर्ख र हेरको अवस्थामा छ । सरकारको नेतृत्व गर्न जुन दलले दिन्छ, उसैलाई समर्थन गरेर आलोपालो सरकार गठनमा जाने माओवादी केन्द्रको तयारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा छन् । त्यसका लागि उनले आफ्नाे इच्छा जाहेर गरिसकेका छन् ।

एकीकृत समाजवादी पनि कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलको निर्णय पर्खेको छ भने केही आफ्ना राजनीतिक स्वार्थ पूरा गर्नेलाई समर्थन गर्न तयारीमा छ । 

८९ सिट जितेको कांग्रेसले सुरुमा सरकारको नेतृत्व गर्न चाहेको छ । उसले सरकार गठनका लागि गठबन्धन आवद्ध दलकै समर्थन जुटाउन सकिरहेको छैन । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित कांग्रेसमा प्रधानमन्त्रीमा अरु पनि आकांक्षी देखिएका छन् । संसदीय दल गठन र नेता चयनपछि सरकार गठनका लागि गति दिने तयारीमा कांग्रेस देखिन्छ । बहुमत नभएकाले अरु दलकाे सहारामा सरकार गठन गर्नुपर्ने भएकाले पनि नेताहरूले त्यति सक्रियता नदेखाएका हुन् ।

कांग्रेसमा संसदीय दलकाे नेता जाे बन्छ उसैले प्रधानमन्त्रीमा दाबी गर्ने हाे । अहिलेकाे अवस्थामा देउवा पुरानै संसदीय दलकाे नेता हुन् । दलकाे नेताका लागि महामन्त्री गगन थापाले पनि तयारी गरेकाले काे बन्छ भन्ने ग्यारेन्टी छैन ।



माओवादी केन्द्र आफ्नो माग र स्वार्थ पूरा गर्नेलाई समर्थन गर्नेगरी दलीय छलफलमा छ । उसले आफू अनुकूलकाे सरकार गठनका लागि विकल्प अघि सारेकाे छ । त्यसैले अहिलेकै गठबन्धनकाे सरकार बन्छ भनेर भन्न सकिने अवस्थासमेत छैन । २० सिट रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनबारे केही नबाेलेकाले पनि नेताहरू सरकार गठनमा उदासीन बनेका हुन् ।

संसदको पहिलो दल कांग्रेसले सरकार गठनका लागि समर्थन जुटाउन नसकिरहेका बेला ७८ सिटसहित दोस्रो दल बनेको एमालेले पनि सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन सकेको छैन । सत्तारुढ गठबन्धनको निर्णय र अवस्थालाई हेरेर एमालेले सरकार गठनका विषयमा निर्णय लिने तयारीमा छ ।



आवश्यक परेको खण्डमा सरकारको नेतृत्व लिन आफ्नो पार्टी तयार रहेको एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमै बोलिसकेका छन् । तर, उनले पनि सरकार गठनका लागि आवश्यक पर्ने १३८ सांसदको समर्थन जुटाउन भने सकेका छैनन् । ७८ सिट रहेको एमालेलाई सरकार गठनका लागि थप ६० सांसदको समर्थन आवश्यक पर्छ । जुन जुटाउन ओलीलाई निकै कठिन छ । माओवादी, एकीकृत समाजवादी, राप्रपा र जसपालाई साथ लिए मात्र ‌ओली प्रधानमन्त्री बन्न सक्छन् । तर जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगकाे गठबन्धन ताेडेकाे बताइसकेका छन् ।

  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार १४:११:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया