logo-img

समानुपातिक सिफारिसबारे असन्तुष्ट हुन जरुरी छैन : प्रवक्ता ढकाल
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सिफारिसमा असन्तुष्टि देखिएको छ । पार्टीको समानुपातिक सूचीको शीर्ष स्थानमा नामावली भएका नेताहरू नै सिफारिसमा नपरेपछि असन्तुष्टि देखिएको हो । सो पार्टीको समानुपातिकतर्फ खस आर्य कोटाबाट दोस्रो नम्बरमा रहेका गणेश कार्कीले पार्टी प्रवक्ता डा. मुकुल ढकालका कारण आफूहरू सिफारिसमा पर्न नसकेको शनिबार सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।

दलिततर्फको सिफारिसमा समेत असन्तुष्टि देखिएको छ । दलित कोटामा पनि महिलालाई पन्छाउँदै पुरुषलाई नै सिफारिस गरिएको छ । रास्वपाको बन्दसूचीमा दलित समूहबाट महिलाको पहिलो नम्बरमा रहेकी कल्पना रोक्काले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमै पार्टीले एकजना पनि दलित महिलालाई सिफारिस नगरेर दलित महिलामाथि अपमान गरेको बताएकी थिइन् । 

यद्यपि प्रवक्ता डा. ढकालले यसअघि निर्वाचन आयोगमा पठाएको बन्दसूची भन्दा दायाँबायाँ नगरी समानुपातिक सांसद सिफारिस गरेको दाबी गरेका छन् । प्रवक्ता डा. ढकालले समानुपातिक सांसद सिफारिसमा कुनै तलमाथि नभएकाले अनावश्यक विवादको अर्थ नरहेको प्रतिक्रिया दिएका हुन् । 

 'हामीले समानुपातिकतर्फ यसअघि निर्वाचन आयोगमा पठाइएकै बन्दसूचीका आधारमा सांसद सिफारिस गरेका छौँ,' उनले भने, 'त्यो भन्दा दायाँबायाँ भएको छैन ।'  उनले पार्टीले प्राप्त गरेको सिट र क्लस्टरअुनसार नाम सिफारिस गर्दा कतिपय उम्मेदवार छुटे पनि सिफारिसप्रति असन्तुष्ट हुन जरुरी नरहेको बताए । 

प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ ।  





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार १५:४५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया