के यो रोनाल्डोको फुटबल करिअरको अन्त्य हो ?

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोका लागि विश्वकप अब सकिएको छ, तर, योसँगै अर्को एउटा प्रश्न पनि जन्मिएको छ– के अब रोनाल्डोको फुटबल करिअरको बाटो नै ‘डेड इन्ड’मा पुगेको हो ?

आफ्नै टिमका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषसँग विवाद भएपछि प्लेइङ ११ बाट निकालेर बेन्चमा राखिएका रोनाल्डोले यो विश्वकपमा क्वाटरफाइनलबाट देश बाहिरिए पछि आँखाबाट आँसु झारे, ती तस्वीर अहिले फुटबल प्रेमीहरुका सामाजिक सन्जालमा छाएका छन् ।

मोरक्कोसँग हार व्यहोरेपछि ३७ वर्षका रोनाल्डोका लागि अब कहाँ जाने भन्ने पनि प्रश्न छ । उनीसँग अहिले आफ्नै क्लब छैन जसले उनलाई घर बोलाओस् । गत महिना मात्र उनले म्यानचेस्टर युनाइटेडसँगको सम्झौता खारेज गरेको घोषणा गरेका छन् ।

त्यसैले त अहिले प्रश्नहरु जन्मिएका छन्, पोर्चुगलमा उनलाई जति माया गरिए पनि अबको उनको यात्रा कहाँ हुनेछ, कसरी हुनेछ र उनले के गर्नेछन् भन्ने प्रश्नहरुको जवाफ यतिबेला कसैले भेट्न सकेको छैन ।

विश्वकप सुरु हुनुभन्दा अगाडि मात्रै रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाडेको घोषणा गरे । उनको विश्वकप यात्रा निकै सुन्दर तरिकामा सुरु पनि भयो ।



पोर्चुगलको पहिलो ग्रुप खेलमा घानाविरुद्धको पेनाल्टीलाई फिफाले नै ‘पूर्णरुपमा जिनियस’ भनेको छ । तर, त्यसपछिका दुई खेलमा रोनाल्डोले गोल गर्न सकेनन् । अनि उनको यही समयमा सान्तोषसँग चर्को विवाद पनि भयो । विवाद हुनुको कारण थियो, दक्षिण कोरियाविरुद्धको खेलमा सान्तोषले उनलाई निकालेर अर्का खेलाडीलाई मैदानमा पठाउनु ।

यही विवादका कारण उनी स्विट्जरल्याण्डविरुद्ध मैदानमा गएनन् । सन् २००८ पछि रोनाल्डोको जीवनमा यो पहिलो पटक थियो, एउटा महत्वपूर्ण खेलमा बेन्चमा रहनु । अनि रोनाल्डो झन् ठूलो चर्चामा आए जब गोन्सालो रामोस जो उनको सट्टामा मैदानमा गएका थिए, उनले ह्याट्रिक गरिदिए ।



मोरक्कोविरुद्धको क्वाटरफाइनल खेलमा त झन् उनी ५१ औं मिनेटमा मैदानमा प्रवेश गरे, जतिबेला पोर्चुगल एक गोलले पछाडि परिसकेको थियो । अनि यो खेलमा उनले १० पटक मात्र बललाई आफ्नो नियन्त्रणमा लिन सके, एउटा मात्र बललाई सटिक प्रहार गरे ।

अब अर्को विश्वकपमा उनी ४१ वर्षका हुनेछन्, उनी मैदानमा देखिने सम्भावना त्यसपछि निकै कम हुनेछ ।

उनीसँग अब एउटा सम्भावना चाहिँ छ, युरो २०२४ मा अहिलेको निराशालाई सुखद क्षणमा बदल्ने । तर, त्यो पोर्चुगलको टिमबाट उनको पुनरागमन कसरी होला ? यो प्रश्नले जन्माएको अर्को प्रश्न हो– के रोनाल्डोको फुटबल करिअरको अब अन्त्य भएको हो ?

  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार २०:४५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया