नगराइन नगरपालिकाका शिक्षक तथा कर्मचारी एक हप्तादेखि आन्दोलनमा, विद्यार्थी पढाइबाट वञ्चित

धनुषाको नगराइन नगरपालिकाका शिक्षक तथा कर्मचारी विगत एक हप्तादेखि आन्दोलनमा हुँदा विद्यार्थीहरू पढाइबाट वञ्चित भएका छन् । 

सोही अवस्थालाई दृष्टिगत गर्दै विद्यार्थीहरूले सोमबार दोस्रो दिन पनि जनकपुर–जटही ६ लेन सडकखण्ड ३ घण्टा अवरुद्ध गरेका छन् । 

अनेरास्ववियूका केन्द्रीय सदस्य आदर्श मण्डलको नेतृत्वमा विद्यार्थीहरू आन्दोलित भएका हुन् । एक सातादेखि पठनपाठन ठप्प रहेको भन्दै उनीहरू आन्दोलनमा उत्रेका छन् ।

नगरपालिकाको कामकाज ठप्प पार्दै शिक्षक तथा कर्मचारीहरू धर्नामा बसेपछि विद्यार्थीहरूले चक्काजाम गर्दै आन्दोलन गरेका छन् ।

लामो समयदेखि पठनपाठनसमेत ठप्प हुँदा अध्ययनमा असर परिरहेको भन्दै तत्काल विद्यालयमा पठनपाठन सञ्चालन गर्नुपर्ने आफूहरूको माग रहेको विद्यार्थी नेता मण्डलले जानकारी दिए । उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरू सरकारी विद्यालयमै पढ्नुपर्ने बाध्यता रहेको बताए ।

मेयर, उपमेयर तथा शिक्षकहरूले आ–आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाएर सरकारी विद्यालय बन्द गरी विद्यार्थीको जीवनसँग खेलबाड गरेको उनले आरोप लगाए ।



नगरपालिकाले विगत ५ महिनादेखि शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीको तलबभत्ता नदिएको भन्दै उनीहरू विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय तथा विकास निर्माणलगायतका सम्पूर्ण कामकाज ठप्प गरेर विगत एक हप्तादेखि धर्नामा बसेका छन् ।



  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार २१:३२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया