विप्लवले गरे अध्यादेशको स्वागत, राष्ट्रपतिले स्वीकृत गर्नेमा विश्वस्त

सरकारले भर्खरै ल्याएकाे अध्यादेशकाे नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्वागत गरेकाे छ । महासचिव विप्लवले आफूहरूसँग भएको तीनबुँदे सहमतिअनुसार अध्यादेश आएको भन्दै मंगलबार एक विज्ञप्तिमार्फत त्यसकाे स्वागत गरेका हुन् ।  

सरकारले साेमबार मुलुकी फौजदारी संहिता संशोधनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ पठाएकाे छ । विप्लवले अध्यादेशलाई राष्ट्रपतिले स्वीकृत गर्नेमा पार्टी विश्वस्त रहेको जनाएका छ्न् । 

विज्ञप्तिमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग कानुन निर्माण प्रक्रियालाई पूर्णता दिई लागू गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।
 
'नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीनबुँदे सहमतिअनुसार नेता तथा कार्यकर्ताहरूमाथि लागेका सम्पूर्ण मुद्दाको खारेजी तथा बन्दी नेता/कार्यकर्ताहरूको रिहाइका लागि मंसिर २५ गतेको मन्त्रिपरिषद्को बैठकबाट अध्यादेशबारे निर्णय गरी प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपतिसमक्ष पेस गरेको छ,' विज्ञप्तिमा भनिएको छ, 'हाम्रो पार्टीसँगको छलफल एवं सहमतिको मर्मअनुरूप सरकारले आफ्नो जिम्मेवारीस्वरूप अध्यादेश पेस गर्नु स्वागतयोग्य कुरा हो ।'

विप्लवले सरकारले अध्यादेश पेस गरेपश्चात् सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसकै कतिपय नेता र एमालेका कतिपय नेताले विरोध गरिरहेको सुन्दा आश्चर्यचकित बनाएको बताएका छन् । 

उनले विज्ञप्तिमा भनेका छन्, 'कुनै पनि जिम्मेवार नेताले देशका राजनीतिक समस्याहरूलाई यथाशीघ्र समाधान गर्न अग्रगामी पहल गर्नुको सट्टा सरकारले गरेको पहलमा समेत बाधा अवरोध खडा गर्नु भनेको गम्भीर समस्याको विषय हो ।'





  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार १५:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया