अपांगमैत्री छैन बागमती प्रदेशसभा

मंसिर ४ को निर्वाचनबाट बागमती प्रदेशसभाको दोस्रो कार्यकालका लागि प्रत्यक्ष तर्फबाट ६४ र समानुपातिकबाट ४४ गरी १ सय १० सांसद निर्वाचित भइसकेका छन् । जसममध्ये १ जना अपांगता भएका सांसद निर्वाचित भएका छन् । अपांगता भएकै कारण उनलाई ह्विलचियरको सहारामा प्रदेशसभाको सदनमा उपस्थित हुनुपर्ने बाध्यता छ । तर, प्रदेशसभा सचिवालयका संरचना अपांगमैत्री नभएकै कारण अपांगता भएका सांसदको समस्यालाई कसरी हल गर्ने भन्ने गम्भीर प्रश्न खडा भएको छ । 

रापेछाप जिल्लाकी लक्ष्मी घिमिरे राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट बागमती प्रदेशसभामा समानुपातिक तर्फबाट सांसद बनेकी छन् । शरीरको कम्मरभन्दा तल नचल्ने उनी ह्विलचेयरको सहारामा आफ्नो दैनिकी चलाउँदै आएकी छन् । घिमिरे सांसदमा निर्वाचित भएपछि ह्विलचियर प्रयोगकर्तालाई प्रदेश सभामा सहज वातावरण सिर्जना गर्न अपांग महासंघ बागमती प्रदेशले प्रदेशसभा सचिवालयलाई दबाब दिएको छ । 

ह्विलचियर प्रयोगकर्ता निर्वाचित भएकोले प्रदेशसभा कार्यस्थल मापदण्डसहित निर्माण गरी सम्मानजनक, मर्यादित र स्वतन्त्रतापूर्वक संसद सचिवालयसम्म आवतजावत गरी कार्यसम्पादन गर्ने वातावरण सिर्जना गर्न ध्यानाकर्षण गराइएको हो । प्रदेशसभा सञ्चालन हुने सदन पहिलो तल्लामा नै रहेकाले सभाकक्षसम्म पुग्न समस्या नभए पनि रोष्टममा जान तथा संसदीय दलको कार्यकक्षसम्म पुग्न कठिन हुने महासंघले प्रारम्भिक अनुमान गरेको छ । यद्यपि, यसअघि प्रदेशसभा अपांगमैत्री नभए पनि अबका दिनमा यसतर्फ ध्यान जान आवश्यक रहेको अपांग महासंघ बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालले बताए । 

त्यसो त, अघिल्लो कार्यकालमा नउठेका सवाल प्रदेशसभाको दोस्रो कार्यकालमा उठेको भन्दै यो स्वागतयोग्य रहेको बताइएको छ । प्रदेशसभाको गेटदेखि सदन र संसदीय दलको कार्यालय, क्यान्टिन, शौचालयलगायतका स्थान अपांगमैत्री बनाउने बताउँदै नवनिर्वाचित सांसद घिमिरेलाई सहज वातावरण बनाउन आजैबाट पहल गरिने बागमती प्रदेशसभा सचिव कृष्णहरि खड्काले दाबी गरे । 

तत्कालीन शिक्षा निर्देशनालयको साँघुरो भवनबाट सञ्चालन भइरहेको बागमती प्रदेशसभा भवनमा सभामुख, उपसभामुखको कार्यकक्ष, संसदीय दलको बैठक कोठा आदि अपांगमैत्री बनाउनतर्फ प्रदेश सरकारको ध्यान जान सकेको छैन ।





  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार १६:५२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया