बागमतीको मुख्यमन्त्रीका लागि कांग्रेसमा किचलो, बानियाँ र लामा दौडधुपमा

मंसिर ४ मा भएको आम निर्वाचन सकिएसँगै दलहरू सरकार निर्माणको गृहकार्यमा जुटेका छन् । दलहरू केन्द्रदेखि प्रदेशसम्मको सरकार निर्माणका लागि गृहकार्यमा जुटेका हुन् । 

बागमती प्रदेशमा पनि नयाँ सरकार निर्माणका लागि नेताहरू छलफलमा जुटेका छन् । सत्ता गठबन्धनको स्पष्ट बहुमत रहेको बागमती प्रदेशमा ३७ सिटका साथ नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । जसकारण पनि बागमतीको मुख्यमन्त्री कांग्रेसको हातमा पुग्ने निश्चित छ । तर, कांग्रेसमा शेरबहादुर देउवा प्यानलकै नेताबीचको आन्तरिक असन्तुष्टिले मुख्यमन्त्रीको विषय पेचिलो बनिरहेको छ । 

दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले संसदीय दलको निर्वाचनमा कांग्रेस संस्थापन पक्ष विभाजित बनेको हो । दलको नेता बन्ने होडमा मकवानपुर–२ (ख) बाट निर्वाचित इन्द्रबहादुर बानियाँ र नुवाकोटबाट विजयी बहादुर सिंह लामा सबैभन्दा अगाडि देखिएका छन् । दुवै प्रदेशसभा सदस्य कांग्रेस संस्थापन पक्षका हुन् ।

बानियाँ अघिल्लो कार्यकालमा पनि मुख्यमन्त्रीका आकांक्षी थिए । तर, पहिलो कार्यकालमा उनको सपना पूरा हुन सकेन । फेरि यसपटक बानियाँ मुख्यमन्त्रीका लागि दौडमा छन् । उनी कांग्रेस बागमती प्रदेश सभापति एवं पूर्वराज्यमन्त्रीसमेत हुन् ।

अघिल्लो कार्यकालको अन्तिमतिर सत्ता गठबन्धनबीच कांग्रेसलाई मुख्यमन्त्री दिने लिखित सहमति भएको थियो । सो सहमतिअनुसार बानियाँ मुख्यमन्त्री बन्ने सम्भावना प्रबल थियो । तर, चुनावपछि मुख्यमन्त्री पाउने आश्वासनपछि उनी पछि हटेका थिए । त्यसकारण यसपालि बानियाँ मुख्यमन्त्री दौडमा अग्रस्थानमा देखिन्छन् ।

यता, केन्द्रीय सदस्यसमेत रहेका लामा पनि प्रदेशसभा सदस्य निर्वाचित भएलगत्तै दलको नेता बन्ने कसरतमा जुटेका छन् । उनी केही दिनयता संसदीय दलको नेता बन्न आन्तरिक लबिङमा व्यस्त छन् । लामा प्रतिनिधिसभा सदस्यको टिकटका दाबेदार थिए । तर, केन्द्रको टिकट नपाएपछि उनले प्रदेशको चुनावमा चित्त बुझाए । 



लामा मुख्यमन्त्री दिने सर्तमा नै आफू संघ छोडेर प्रदेश झरेको बताउँछन् । उनलाई कांग्रेस संस्थापन र शेखर कोइराला पक्षका नेताहरूको पनि साथ रहेको बताइएको छ । बानियाँ पनि आफूलाई ठूला नेताहरूको साथ रहेको बताउँदै आएका छन् । 

बागमती प्रदेशसभा निर्वाचित सांसदमा देउवा प्यानलको बहुमत रहेको छ । एउटै प्यानलबाट दुईजनाले मुख्यमन्त्रीको दाबी गरेपछि देउवालाई सहमति जुटाउन सकस हुने देखिन्छ ।    



  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १४:२१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया