नेपाल धितोपत्र बोर्डले दुई लगानीकर्ता गुरुप्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानलाई कारवाही गर्ने निर्णय गरेको छ ।
यी दुईले आफू कम्पनीको अध्यक्ष रहेकै समयमा कम्पनीको सेयर किनबेच गरेको आरोप लागेको थियो । रिडी हाइड्रोपावर कम्पनीका अध्यक्ष रहेकै समयमा न्यौपानेले २०७७ साल चैतदेखि २०७८ साल भदौसम्म कम्पनीको सेयर किनबेच गरेका थिए ।
त्यस्तै, प्रधानले नेपाल हाइड्रोपावर लिमिटेडको अध्यक्ष रहेको समयमा श्रीमती बिमला श्रेष्ठ, छोरा चेतन र छोरी निभितको नाममा रहेको सेयर कारोबार गरेका थिए ।
प्रधानले यो सेयर किनबेच गरेको खबर सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए । यस विषयमा धितोपत्र बोर्डले त्यति बेलादेखि नै अनुसन्धान सुरु गरेको थियो । न्यौपाने र प्रधान दुवै दोषी देखिएपछि धितोपत्र बोर्डले उनीहरुलाई किन कारवाही नगर्ने भन्ने प्रश्न सोधेको छ ।
उनीहरुलाई ७५ हजारसम्म जरीवाना र धितोपत्र बोर्डमा सूचीकृत कुनै पनि कम्पनीमा १० वर्षसम्म सन्चालक समितिको महत्वपूर्ण नियुक्त हुन नपाउने गरि कारवाही हुनसक्छ ।
धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७९ अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले यस्तो पदमा बहाल रहँदासम्म वा पदबाट अवकाश लिएको एक वर्षसम्म त्यो संस्था वा त्यसको सहायक कम्पनीको सेयर किनबेच तथा हस्तान्तरण गर्न पाउँदैनन् ।
यी पदमा रहने व्यक्तिको आफ्नै वा उसको स्वामित्व रहेको फर्म, परिवारको नाममा रहेको सेयर समेत किनबेच गर्न नपाउने व्यवस्था छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।