पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च झनै कम

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । चालू आवका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये मंसिर मसान्तसम्ममा चार खर्ब ३५ अर्ब २१ करोड ११ लाख रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

यस अवधिमा सरकारको पुँजीगत खर्च निकै कम छ । उक्त अवधिमा करिब नौ प्रतिशत बराबर मात्रै खर्च देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर मसान्तसम्ममा सङ्घीय सरकारको पुँजीगत खर्च ३३ अर्ब ९९ करोड १६ लाख रुपैयाँ बराबर छ । 

चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बजाबर बजेट छुट्याएको छ । हालसम्मको पुँजीगत खर्च आठ दशमलव ९४ प्रतिशत बराबर हो ।
 
त्यस्तै चालु शीर्षकमा विनियोजित कूल ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ बजेटमध्ये हालसम्म २९ दशमलव ९४ प्रतिशत खर्च भएको छ । जुन तीन खर्ब ५४ अर्ब २५ करोड ६९ लाख रुपैयाँ बराबर हो । 

वित्तीय व्यवस्थापनतर्फ रु दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बजेट छुट्याइएकामा मंसिर मसान्तसम्ममा रु ४६ अर्ब ९६ करोड २६ लाख बराबर खर्च भएको छ । जुन खर्च वित्तीय व्यवस्था शीर्षकमा विनियोजित बजेटको २० दशमलव चार प्रतिशत बराबर हो । यसरी हेर्दा हालसम्म सरकारको पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थापन शीर्षकमा भएको खर्च बढी देखिएको छ ।
 
यही अवधिमा सरकारको राजस्व सङ्कलन २४ दशमलव ५२ प्रतिशत बराबर रहेको छ । चालु आर्थिक वर्षका लागि कूल रु १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख आन्तरिक राजस्व उठाउने र रु ५५ अर्ब ४५ लाख ८३ करोड वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेको छ । 

हालसम्म आन्तरिक राजस्व सङ्कलन रु तीन खर्ब २६ अर्ब ८९ करोड अर्थात् वार्षिक लक्ष्यको २३ दशमलव तीन प्रतिशत बराबर छ । साथै  यस अवधिमा सरकारले रु तीन अर्ब ४१ करोड ५९ लाख अर्थात् वार्षिक लक्ष्यको छ दशमलव १६ प्रतिशत वैदेशिक अनुदान लिएको छ । 





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार १७:२३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया