१० वर्षभित्र सातै प्रदेशमा केबलकार बनाउँछौं : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अबको १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य अगाडि सारेका छन् । नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले शनिबार आयोजना गरेको युवा उद्यमी सम्मेलन कार्यक्रममा ढकालले यस्तो बताएका हुन् ।

चन्द्रागिरी हिल्स प्रालि तथा लुम्बिनी केबलकार प्रालिका अध्यक्षसमेत रहेका ढकालले आफ्नो कम्पनीले १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गरी सञ्चालनमा ल्याउने बताए ।

उनले आगामी तीन महिनाभित्र बुटवलमा निर्माण भैरहेको लुम्बिनी केबलकार सञ्चालनमा आउने पनि जानकारी दिए । बुटवलमा बनिरहेको केबलकार तीन महिनाभित्रै सञ्चालनमा आउने उनले बताए ।  

बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार दुई महिनाभित्र भौतिक संरचना निर्माण सम्पन्न हुने ढकालले जानकारी दिए । दुई महिनामा भौतिक संरचना निर्माणपश्चात् तीन महिनामा अन्य प्राविधिक चेक जाँच सम्पन्न हुने र त्यसपश्चात् केबलकार सञ्चालन हुने उनको भनाइ रहेको छ ।

ढकालले बुटवलमा केबलकार निर्माणपछि भारतीय पर्यटकको चाप बढ्ने बताए । उनले वसन्तपुर डाँडामा स्तरीय होटलसहित कामेश्वर महादेव भगवानको मन्दिर समेत निर्माण गरिने बताए ।

नेपालमा अहिले विशेषगरी चारवटा स्थानमा केबलकार सञ्चालनमा छन् । नेपालमा पहिलो पटक ०५५ सालमा मनकामना केबलकार सञ्चालनमा आएको थियो ।





  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार १५:११:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया