नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी)को काठमाडौं निर्वाचन क्षेत्र नं ९ ले आयोजना गरेको कार्यक्रममा महासचिव भुसालले यस्तो बताएका हुन् ।
निर्वाचन आयोगले परिणाम राष्ट्र प्रमुखलाई बुझाएपछिको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्रमा सरकार गठन गर्नुपर्ने बताउँदै त्यसका लागि गठबन्धनभित्र गृहकार्यका साथै छलफल भइरहेको उनले बताए ।
कम्युनिष्ट पार्टीलाई परिणाममुखी बनाउन लाग्नुपर्ने बताउँदै उनले पार्टीले देशभर संगठन बिस्तार गर्दै गतिशील बनाउनुपर्नेमा जोड दिए । निर्वाचनमा पार्टीको काममा निरन्तर खटेका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले निर्वाचन परिणामबाट हतोत्साहित नहुन आग्रह गरे ।
पार्टीको शक्तिलाई पुनः गठित गरी आगामी चुनावको तयारीमा थप उत्साह र आशाका साथ अहिलेदेखि क्रियाशील हुन कार्यकर्तालाई उनले निर्देशन दिए । काठमाडौं जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठ, अनुशासन आयोगका केन्द्रीय सदस्य सीताराम नेपाल लगायतले चुनावी समीक्षा गर्दै आगामी दिनमा सशक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।