एजेन्सी– भेनेजुएलामा केही दिनदेखि राष्ट्रपति निकोलस मदुरो र विपक्षी नेता जुआन गोइदोबीच चलिरहेको सत्ता संघर्ष नयाँ मोडमा पुगेको छ ।
यतिबेला भेनेजुएलाको राजधानी कराकसमा जुआन गोइदोको समर्थनमा धेरै मानिस सडकमा उत्रिएका छन् । कतिपयको हातमा मदुरोलाई पद छोड्न आग्रह गरिएका प्लेकार्ड रहेका छन् ।
कराकसमा प्रदर्शनका सहभागी मानिस मदुरोलाई सत्ता छोड्न र भेनेजुएलाका मानिसलाई मानवीय सहयोग आउन दिन माग गरिरहेका छन् ।
यो प्रदर्शनको नेतृत्व विपक्षी नेता जुआन गोइदोले गरेका छन् ।
कराकसका् प्रदर्शनलाई सम्बोधन गर्दै गोइदोले विरोध प्रदर्शन जारी राख्ने घोषणा गरेका छन, ‘विरोध सकियो भन्नेहरुका लागि यो एउटा सन्देश हो’ गोइदो भन्छन् ।
स्वतन्त्र चुनाव नभएसम्म आफूहरु विरोध प्रदर्शन गरिरहने गोइदोको भनाइ छ ।
निकोलस मदुरोले अमेरिकी हस्तक्षेपबाट देश कब्जा गर्ने प्रयास जारी रहेको बताएका छन् । यसका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग उनले सहयोग मागेका छन् ।
एक शान्तिपूर्ण देशमा यस्तो आक्रमण भइरहेको अवस्थामा विश्वभरका मानिसलाई आफ्नो आँखा खोलेर उठ्न मदुरोले आग्रह गरेका छन् ।
गएको महिनामा मदुराले राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकालको सपथ लिएका थिए । तर विपक्ष नेताले चुनावमा धाँधली भएको भन्दै चुनाव बहिष्कार गरेका थिए र पछि विपक्षी नेता जुआन गोइदोले आँफैलाई अन्तरिक राष्ट्रपति घोषणा गरे ।
अमेरिकासहित करिब २० देश जुआन गोइदोको समर्थनमा छन् । तर चीन, रुस, टर्कीलगायतका देश मदुरोको समर्थनमा छन् ।
लामो समयदेखि भेनेजुएला आर्थिक, सामाजिक संकटमा परेको छ । ठूलो संख्यामा नागरिकहरु देशबाट पलायन भएका छन् । यसकारण पनि भेनेजुएलाका जनता मदुरोप्रति निराश छन् ।
मदुरोको विरोधमा अमेरिकाले प्रतिबन्ध लगाएपछि यहाँको हालत झन खराब बन्दै गइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।