सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो: बाबुराम भट्टराई

गोरखा– ‘मध्यपहाडी लोकमार्ग जनसंवाद तथा जागरण’ अभियान सुरु गरेको नयाँ शक्ति पार्टीका संयोजक एवं सांसद डा. बाबुराम भट्टराई अहिले गृहजिल्ला गोरखामा छन् । 

सोमबार गोरखाको आएका भट्टराई मंगलबार घ्याम्पेशाल, चोरकाटे हुँदै बुधबार पालुङटार पुगेका छन् । यात्राका क्रममा जनप्रतिनिधिसँग स्थानीय तहको समस्या, विकास निर्माणको अवस्थाबारे जानकारी लिएको उनले बताए । 

माघ १५ गते पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको सो अभियान १५ फागुनसम्म चल्ने जनाइएको छ । अभियानका क्रममा गोरखा आएका भट्टराईले बुधबार पालुङटारमा जनप्रतिनिधिसँग संवाद गर्दै स्थानीय तहमा अधिकार नदिएको बताए । 

‘संघ र प्रदेशले अधिकार कटौती गरेको छ, यसरी विकासमा समस्या हुन सक्छ, स्थानीय तहलाई बलियो बनाउनमा प्राथमिकता दिनुपर्छ,’ उनले भने । चोरकाटेमा आयोजित कार्यक्रममा भट्टराईले सरकारको आलोचना गर्दै भ्रष्टाचारमा डुबेको आरोप लगाए । 

बुढीगण्डकी आयोजना ठेक्का, ३३ किलो सुन, वाइडबडी खरिद, एनसेल कर, फोर जी सेवा लगायतका विषयमा सरकारले भ्रष्टाचार गरेको उनको दाबी छ । ‘यी सबै काममा सरकारले खायो, पचायो, जताततै भ्रष्टाचार छ,’ उनले भने । 

डा. भट्टराईले बुढीगण्डकी आयोजनामा शीर्ष पार्टीका नेताले कमिसन खाएको आरोपसमेत लगाए । स्वदेशी लगानीमा निर्माण गर्नुपर्ने उक्त आयोजनाको अन्योलको स्थिति नेताहरूले नै सिर्जना गराएको उनले बताए । 



जनयुद्ध दिवसकै संघारमा उनले पहिले युद्ध गरेर आएका नेता सत्तामा पुगेपछि राफतापले सबै भुलेर लोभलालचमा लागेको बताए । ‘हिजो त्याग गरेका नेताहरूले अहिले राज्यलाई दुहुनो गाई बनाएका छन्,’ उनले भने ।

देशको मुहार बदल्ने राजनीति नै फोहोर भएपछि राजनीतिले चलाउने सबै नीतिमा समस्या हुने बताउँदै भट्टराईले मूल नीति सङ्लो बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘विकासका लागि पार्टी र व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ ।’ डा. भट्टराईले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यसँग अभियानका क्रममा छलफल गर्ने, सुझाव लिने गरेका छन् । 



सिरान्चोक गाउँपालिका–४ का वडा अध्यक्ष दीपक हमालले बिकास निर्माणका काम जनप्रतिनिधिले छोएकै भरमा हुन्छ भन्ने भावना जनतामा बढ्दा काम गर्न समस्या भएको गुनासो गरेका थिए । माथिल्लो निकायले बनाउनुपर्ने ऐन–नियम नबनाउँदा समस्या भएको उनको गुनासो थियो । त्यसैगरी, वडा नम्बर ६ का अध्यक्ष नारायण दानीले सीमित बजेटले वडाको आवश्यकताअनुसार विकास गर्न नसकिएको गुनासो गरे । 

३० दिने अभियानका क्रममा नयाँ शक्तिका नेता कार्यकर्ता भट्टराईसँगै छन् । जुन ठाउँमा पुगिन्छ त्यहाँ जनप्रतिनिधि र स्थानीयसँग छलफल गर्ने, सुझाव लिने र उक्त सुझाव प्रतिवेदनको रूपमा तयार गरी संसद्मा विशेष समय लिएर प्रस्तुत गर्ने डा. भट्टराईले बताए । 

संघीय मन्त्रालय, मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगमा बुझाउने र जनताको समस्या, अवस्था, जनप्रतिनिधिको पीडाका बारेमा ध्यानाकर्षण गराउने उनले आश्वासन दिए ।
 

  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार १२:४५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया