भेनेजुएला संकट
मदुरोको पक्षमा किन लागे रुस र चीन ?

डिसेम्बरमा भेनेजुएलाका प्रमुख विपक्षी नेता जुआन गोइदोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरे । साथै उनले विश्वका सबै देशलाई आफ्नो समर्थन गर्न पनि अपिल गरे । उनले भेनेजुएलामा जारी आर्थिक संकट र अराजकता हटाउन पुनः चुनाव गर्न जरुरी रहेकाले आफूलाई साथ दिन सबैलाई आग्रह गरिरहेका छन् ।  

यसपछि अमेरिकाले गोइदोलाई अन्तरिम राष्ट्रपतिकाे मान्यता दियो र राष्ट्रपति निकोलस मदुरोको सरकारविरुद्ध विभिन्न प्रतिबन्ध लगायो । 

अमेरिकापछि ल्याटिन अमेरिका र युरोपका धेरै देश गोइदोको पक्षमा देखिएका छन् । निकोलस मदुरो अन्तर्राष्ट्रिय दवाबले केही समयमा नै सत्ता छोड्ने छन् भन्ने धेरैले सोचेका थिए तर पछि रुस र चीनले मदुरोलाईे साथ दिने घोषणा गरे । 

रुसले भेनेजुएलामा अमेरिकाले गरेको हस्तक्षेप र प्रत्येक कारबाहीको जवाफ दिने बताएको छ । रुस र चीनको समर्थन मिलेपछि मदुरोले अमेरिकाविरुद्ध कडा आलोचना गर्दै आएका छन् । अमेरिकासँगको कुटनीति सम्बन्ध तोड्ने घोषणा पनि मदुरोले गरे । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैन्य कारबाही गर्ने विषयमा विचार गरिरहेको बताएका छन् । यता मदुरोले ट्रम्प प्रशासन ‘अतिवादीको गुट’ भएको आरोप लगाएका छन् । 

मदुरोले भेनेजुएलामाथि सैन्य कारबाही गरे ‘भियतनाम युद्ध’को जस्तो नतिजा अमेरिकाले भोग्नुपर्ने चेतावनी दिएका छन् । 



चीन र रुस भेनेजुएलाकाे पक्षमा किन ?

भेनेजुएलामा जारी संकटका बीच एउटा ठूलो बहस र सवाल उब्जिएको छ, रुस र चीनले मदुरोलाई किन साथ दिइरहेका छन् ? 



मदुरोको विरुद्धमा लाखौं जनता सडकमा प्रदर्शन गरिरहेका छन् र मदुरो देशमा आम चुनाव गराउन अस्वीकार गर्दै आइरहेका छन् । किन चीन र रुस यीनै राष्ट्रपतिको पक्षमा छन् ? 

अन्तर्राष्ट्रिय सम्बन्ध र मामिला विशेषज्ञहरु यसको पछाडी धेरै कारण रहेको बताउँछन् । 

चीन भेनेजुएलालाई सबैभन्दा धेरै ऋण दिने देश हो । अमेरिकी थिंक ट्यांक द डायलगको एक रिपोर्टअनुसार चीनले गएका १० वर्षमा भेनेजुएलालाई ६२ अर्ब डलर भन्दा धेरै ऋण दिएको छ । 

यो ऋण ल्याटिन अमेरिकाका अन्य देशलाई दिनेभन्दा धेरै हो । योबाहेक १२ वर्षमा चिनियाँ कम्पनीले भेनेजुएलामा करिब २० अरब डलरको लगानी गरेका छन् ।

ल्याटिन अमेरिकाको अन्तर्राष्ट्रिय सम्बन्धमा सरोकार राख्ने विद् भिक्टर एम मिजारेस भन्छन् मदुरो सत्ताबाट हटे आफ्नो धेरै लगानी डुब्न सक्ने चीनलाई डर छ । किनकी नयाँ राष्ट्रपति चीनको ऋण चुक्ता गर्नभन्दा देशको अवस्था सुधार्नतिर ध्यान दिन्छन् ।

चीन व्यापार वार्तामा फाइदा लिन भेनेजुएलाको पक्ष लिएर अमेरिकालाई दवाब दिन चाहन्छ । 

रुस र भेनेजुएलाको सम्बन्ध राष्ट्रपति ह्युगो चाभेजको समयदेखि नै राम्रो थियो । रुसको हरेक मुद्दामा साथ दिने ल्याटिन अमेरिकाको एक मात्र देश हो भेनेजुएला।हालै सिरिया र युक्रेनको मामिलामा पनि भेनेजुएलाले रुसलाई साथ दिएको थियो ।

पछिल्लो केही समयमा रुस भेनेजुएलाको सबैभन्दा महत्वपूर्ण व्यवसायिक साझेदार बनेको छ । दुई वर्ष अगाडि रुसको सरकारी तेल कम्पनी रोसनेफ्टले भेनेजुएलाको प्रमुख तेल कम्पनी सिटगोसँगबाट ५० प्रतिशत तेल किनेको थियो । आर्थिक अभावसँग जुधिरहेको भेनेजुएलालाई यसबाट निकै राहत मिलेको थियो । 

२०१७ मा भ्लाद्मिर पुटिनले तीन अरब डलरभन्दा धेरै ऋण चुकाउन भेनेजुएलालाई लामो समय थपेका थिए, । यसबाट पनि भेनेजुएला र रुसको सम्बन्ध कति गहिरो थियो थाहा पाउन सकिन्छ । 

विदेश मामिलाका विज्ञहरु भन्छन् अमेरिकाको गण मानिने ल्याटिन अमेरिकामा आफ्नो स्थान सुरक्षित राख्न पनि रुसले भेनेजुएलालाई सहयोग गर्दै आइरहेको छ र यसमा रुस धेरै हदसम्म सफल पनि भएको छ । 

गएको डिसेम्बरमा रुस र भेनेजुएलाले यो क्षेत्रमा एक सैन्याभ्यास गरेका थिए । यो अभ्यासमा परमाणु हतियार लैजान सक्ने रुसको लडाकु विमान प्रयोग गरिएको थियो, यो कुरा अमेरिकाले विरोध गरेको थियो । 

पूर्व अमेरिकी उपरक्षा मन्त्री डेरेक चलेटले भन्छन् ‘यसरी पुटिन अमेरिकाको बगैंचा (ल्याटिन अमेरिका) मा खेल्न खोजिरहेका छन् र अमेरिका जति चाहे पनि रुसलाई यस्तो गर्नबाट रोक्न सक्ने छैन् ।’ 

अर्कोतर्फ भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई आफ्नो सत्तामा एकदिन संकट आउनेछ भनेर थाहा थियो यसकारण उनी सुरुदेखि नै तयारीमा थिए । आफू संकटबाट बच्न उनले रुस र चीनसँगको सम्बन्ध राम्रो बनाइरहेका थिए । 

चीन र रुससँगको सहयोगले अमेरिका र युरोपको सजिलै सामना गर्न सकिनेमा उनी ढुक्क थिए । चीन र रुससँगको सम्बन्धबाट अर्को ठूलो फाइदा मिल्ने उनले देखेका थिए । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा भिटोको प्रयोग गरेर भेनेजुएलाविरुद्ध ल्याएका हरेक प्रस्ताव रोक्न सकिने मदुरोको आशा थियो । 

भेनेजुएलाका विपक्षी नेता जुआन गाेइदाे

  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार १३:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया