प्रचण्डले भने– १० पुसभित्र नयाँ सरकार बन्छ
फाइल तस्वीर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० पुसभित्र नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकार बनाउनका लागि एक साताको समय दिँदै सूचना जारी गरेकी थिइन् । प्रचण्डले राष्ट्रपतिले दिएको समयभित्रै नयाँ सरकार बन्ने बताएका हुन् ।

अहिलेको सत्ता गठबन्धनको नै सरकार बन्ने पनि उनले संकेत गरेका छन् । उनले गठबन्धनमा छलफल गरेर प्रधानमन्त्री चयन हुने बताएका छन् । अहिलेसम्म गठबन्धनमा नयाँ प्रधानमन्त्री को बन्ने भन्ने चर्चा चले पनि निर्णय नभएको उनले बताएका छन् । यो निर्णय सजिलै हुने पनि उनले बताएका छन् ।

‘राष्ट्रपतिले दिएको समयअनुसार ७ दिनभित्र नै नयाँ सरकार बन्छ,’ प्रचण्डले भने, ‘गठबन्धनमा प्रधानमन्त्री को भन्ने छलफल चलेको छ, यो सजिलै निर्णय हुन्छ ।’

प्रधानमन्त्री जो बने पनि आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको पनि उनले दाबी गरेका छन् । उनले अहिलेसम्म आफूले गठबन्धनमा औपचारिक रुपमा दाबी गरिनसकेको पनि बताएका छन् । ‘अहिलेसम्म गठबन्धनमा मैले आधिकारिक रुपमा दाबी गरिसकेको छैन,’ उनले भने । 

उनले प्रधानमन्त्रीका लागि आफूले सबै कुरा दाउमा नराख्ने पनि र यसअघि पनि नराखेको बताएका छन् । 



केही दिनअघि कास्कीमा चाहिँ प्रचण्डले अबको प्रधानमन्त्री आफू भएको बताएका थिए । लगत्तै काठमाडौं आएर बालुवाटारमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पनि प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न अनुरोध गरेका थिए । 

पछिल्लो समय नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पनि समानान्तर रुपमा सरकारको नेतृत्वका लागि छलफल चलाइरहेको छ । गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दोहोरिने चाहना राखेका छन् ।



  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार १२:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया