संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवार चयन गर्न नेपाली कांग्रेसभित्र तीव्र छलफल भइरहेको छ । संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवा उम्मेदवार हुने लगभग पक्का जस्तै छ ।
उनीविरुद्ध संसदीय दलको निर्वाचनमा उम्मेदवारी दिने नेताहरूमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाको नाम चर्चामा छ ।
उम्मेदवारको विषयमा सहमति जुटाउन कोइराला र थापाबीच पटकपटक छलफल भएको छ । आज बिहान पनि उनीहरूले लामो छलफल गरे । तर, कोइराला र थापाबीच साझा उम्मेदवार तय गर्ने विषयमा भने सहमति जुट्न सकेन ।
लाजिम्पाटस्थित होटल एम्बास्डरमा उनीहरूबीच बिहान साढे ८ बजेदेखि छलफल सुरु भएको थियो । तर, सो छलफल बिनानिश्कर्ष सकिएको छ । फेरि आज नै कोइराला र थापाबीच छलफल हुने बताइएको छ ।
बैठकपछि कांग्रेस नेता अर्जुन नरसिंह केसीले आफूहरूको समूहबाट दुई जनाको उम्मेदवारी दर्ता नहुने बताए । कांग्रेसको संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ । मनोनयन दर्ताको समय अगाडि नै समझदारीमा पुग्नका लागि कोइराला र थापा पक्षका नेताहरू तीव्र छलफलमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।