आश्रमको अक्षयकोष स्थापनार्थ वीरेन्द्रनगरमा ‘नेपथ्य’ को सांगीतिक कार्यक्रम

वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रममा अहिले ७५ जनाले आश्रय लिइरहेका छन् । आश्रम सञ्चालनका लागि मासिक १० लाख रुपैयाँ हाराहारी खर्च हुन्छ । आश्रय लिइरहेका व्यक्तिमा ४२ जना पुरुष, २९ जना महिला र चारजना बालबालिका छन् ।

मकवानपुरमा केन्द्रीय कार्यालय रहेको मानव सेवा आश्रमले अहिले नेपालभरका १९ जिल्लामा आश्रममार्फत​ सेवा दिइरहेको छ । यी आश्रमहरू र आश्रममा सेवाको निरन्तरतामा सघाउ पुर्‍याउन अक्षयकोष स्थापना गर्ने हेतुले बुधबार वीरेन्द्रनगरमा सांगीतिक कार्यक्रमको आयोजना हुँदैछ ।

नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ सँगको सहकार्यमा मानव सेवा आश्रममा अक्षयकोष स्थापनार्थ सञ्चालन भइरहेको सांगीतिक कार्यक्रम मध्य वीरेन्द्रनगरमा आयोजित हुने कार्यक्रम सातौं कार्यक्रम हो ।

नेपालका प्रमुख शहरमा यसअघि ६ वटा सांगीतिक कार्यक्रमको सञ्चालन भइसकेको छ । वीरेन्द्रनगर पछि थप तीन शहरमा कार्यक्रमको आयोजना गर्ने तालिका छ ।

अभियानमा संलग्न प्रवीण खड्काले भने, ‘मानवताका लागि देशका १० वटा शहरहरूमा नेपथ्य कन्सर्ट आयोजना गरेका हौँ । यस यात्राले नागरिकमा समूहमा राम्रो उत्साह उत्पन्न गराएको पाएका छौँ । सांगीतिक यात्राले अक्षयकोषका लागि रकम संकलन गर्ने नै छ, त्यो आफ्नो पाटोमा छ । अर्को महत्वपूर्ण विषय, यस यात्राले मानवताका लागि नेपाली मनहरू एक स्थानमा संकलन गरेको आभास भएको छ ।’



वीरेन्द्रनगर क्षेत्रमा ५ हजार ५ सयवटा टिकट बिक्री गर्ने आश्रमको लक्ष्य छ । प्रति टिकट १ हजार रुपैयाँ मूल्य रहेको र हालसम्म करिब ४ हजार ५ सय वटा टिकट बिक्री भइसकेको मानव सेवा आश्रमकी कर्णाली प्रदेश संयोजक सञ्जिता गौतमले जानकारी दिइन् ।



उनले भनिन्, ‘आश्रमको अक्षयकोष स्थापनार्थ गर्न लागिएको सांगीतिक कार्यक्रममा टिकट बिक्री नै प्रमुख स्रोत रहेकाले हामीले टिकट बिक्रीलाई नै पहिलो प्राथमिकता दिएर तयारी र सक्रियता बढाएका छौँ ।’

कार्यक्रमका लागि टीकाराम चपाईको संयोजकत्वमा मूल समिति समेत गठन भइसकेको छ । यसका साथै विभिन्न विषयगत उपसमितिहरू समेत गठन भएका छन् ।
बालरोग विशेषज्ञ डा. नवराज केसीको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन समिति गठन भएको छ ।

समितिले कार्यक्रममा स्वास्थ्य क्षेत्रमा काम गर्नेछ ।  यसका साथै गणेश कार्कीको संयोजकत्वमा मिडिया तथा प्रचारप्रसार समिति, सुमन कार्कीको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन समिति, महेन्द्रकुमार थापाको संयोजकत्वमा टिकट बिक्री व्यवस्थापन समिति, गणेश बस्नेतको संयोजकत्वमा प्रयोजक समन्वय समिति, सञ्जिता गौतमको संयोजकत्वमा आवास व्यवस्थापन समिति, रामबहादुर बुढाको संयोजकत्वमा सरकारी तथा सार्वजनिक क्षेत्र समन्वय समिति र नवराज बोहोराको संयोजकत्वमा स्वयम् सेवक व्यवस्थापन समिति गठन भएको गौतमले जानकारी दिइन् । यसका साथै सचिवालय व्यवस्थापन समितिमा अनिता ज्ञवाली  र संघसंस्था समन्वय समितिमा सागर थानीको संयोजकत्व रहेको छ । 

१६ सय नागरिक आश्रयमा

सडकआश्रित मानव मुक्त राष्ट्र निर्माण, घोषणा एव कार्यान्वयन उद्देश्य लिएको मानव सेवा आश्रममा हाल १ हजार ६ सय जना बढी नागरिकले आश्रय लिइरहेका छन् । नेपालभर १९ जिल्लामा आश्रम र २३ स्थानमा सेवा केन्द्र सञ्चालन गरेको मानव सेवा आश्रम मार्फत दुई हजार आठ सय ६७ जनाको पारिवारिक पुनर्मिलन समेत भइसकेको छ ।

यसका साथै २ हजार २ सय २० जना नागरिक स्वेच्छाले आश्रयबाट बाहिरिसकेका आश्रमकी कर्णाली प्रदेश संयोजक गौतमले जानकारी दिइन् । आश्रमले हालसम्म कुल सात हजार चार सय ३६ जनालाई आश्रयलगायतका सेवा दिइसकेको छ ।​ 

सन् २०१३ मा बेलायतको ‘वेम्बली एरिना’मा प्रदर्शन गर्ने पहिलो नेपाली ब्यान्ड ‘नेपथ्य’ बनेको थियो । सो समयमा नेपथ्यले अधिकांश युके र युरोपमा बस्ने नेपालीलाई आकर्षित गर्न सफल भयो । नेपथ्यको वेम्बली एरिना कन्सर्ट पनि नेपाली ब्यान्डको सबैभन्दा ठूलो प्रदर्शन हो।

नेपथ्य नेपाली लोक ‘रक ब्यान्ड’ हो । नेपथ्य सांगीतिक समूहलाई सन् १९९० मा पोखराका तीन विद्यार्थीले काठमाडौंमा अध्ययनका क्रममा सुरुवात गरेका थिए । सो समयमा दीपक राणा, भीम पुन र अमृत गुरुङ मिलेर नेपथ्य गठन गरेका थिए ।

नेपथ्य आधुनिक पश्चिमी संगीतसँग लोक धुनको मिश्रण क्षेत्रमा सबै भन्दा परिचित छ । समसामयिक धुनहरूका लागि प्रख्यात र ग्रामीण नेपालको बोलीहरू प्रयोग गरी गाइएका गीतसँग नेपथ्यको बलियो सम्बन्ध छ । हाल नेपथ्यको मुख्य गायकमा अमृत गुरुङ छन् । यसका साथै किबोर्डमा सुरज थापा, बास गितारमा सुबिन शाक्य, ढोलमा धुर्वा लामा, लीड गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझी छन् ।

  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार १३:८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया