logo-img

देउवा भर्सेस थापा : संसदीय दलमा को बलियो ?

नेपाली कांग्रेसले आज संसदीय दलको नेताका लागि निर्वाचन गर्दैछ । जसका लागि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ ।  

संसदीय दल नेताका लागि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा उम्मेदवार रहेका छन् । संस्थापन पक्षबाट देउवा र संस्थापनइतर समूहबाट थापा उम्मेदवारी बनेका हुन् । चुनावमा देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् ।

त्यस्तै, देउवाको समर्थकमा पूर्णबहादुर खड्का र थापाको समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेका छन् । दलको नेता चयन हुनका लागि ५१ प्रतिशत अर्थात् ४५ मत ल्याउनुपर्ने हुन्छ । 

४ मंसिरको निर्वाचनबाट कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी कुल  ८९ सिट जितेको छ । संसदीय दलको निर्वाचनमा तिनै ८९ जना सांसदले मत दिन पाउनेछन् ।

तीमध्ये ५० जनाभन्दा बढी सांसद संस्थापन पक्षका रहेको बताइएको छ । त्यस हिसाबले संसदीय दलमा देउवाले बहुमत ल्याउने सम्भावना बलियो रहेको कांग्रेस नेताहरू बताउँछन् । 

देउवा पक्षका एक सांसदका अनुसार हालसम्म संस्थापन पक्षमा कुल ५६ सांसद खुलिसकेका छन् । यस्तो अवस्थामा संस्थापनइतर पक्षमा ३३ सांसद हुने देखिन्छन् ।



यद्यपि कोइराला–थापा पक्षका नेताहरूले भने आफूहरूको पक्षमा ४० सांसद रहेको दाबी गरेका छन् ।    
 



  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया