कांग्रेस संसदीय दलको नेता छान्न मतदान जारी

संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान जारी छ । मतदान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भइरहेको हो ।

कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् ।

संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।  

सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् ।

कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।

प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपश्चात राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी नयाँ सरकार गठनका लागि आह्वान भएसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल सुरु गरिसकेको छ । 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार ९:३९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया