देउवासँग पराजितपछि गगनको प्रतिक्रिया : अब थप मिहिनेत गर्छु

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको निर्वाचनको परिणाम अपेक्षाकृत नआएको बताएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले संसदीय दलको नेतामा पराजित भएपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘स्वाभाविक रूपमा मेरो लागि यो अपेक्षाकृत होइन । मैले त योभन्दा राम्रो हुन्छ भन्ने सोचेको थिए/अपेक्षा गरेको थिए,’ थापाले सञ्चारकर्मीसँग भने, ‘तर, यसबाट म थाक्दा पनि थाक्दैन, यसबाट म निराश पनि हुन्न । अरू थप मिहिनेत गर्छु, अरू थप लाग्छु । नेपाली कांग्रेसको संसदीय दलको नेता बदलिनुपर्छ भन्ने मेरो एजेन्डा किन थियो? के कारणले थियो? भन्ने कुरा निरन्तर साथीहरू माझ लगिरहनेछु ।’ 

उनले आगामी दिनमा आफू संसदीय दलको नेताका लागि कोसिस जारी राख्ने पनि बताए । थापाले आफू महामन्त्रीको रूपमा रहेर काम गर्ने तर तत्काल सरकारमा मन्त्री नबन्ने पनि बताए ।  

आज बिहान सम्पन्न मत परिणामअनुसार देउवा ६४ मतका साथ संसदीय दलको नेतामा निर्वाचित भए । उनीसँग पराजित थापाले २५ मत मात्र प्राप्त गरे । 

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको थियो । कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्त्वपूर्ण मानिन्छ ।

कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ । 





  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार ११:५४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया