शान्तिपूर्ण र सशस्त्र संघर्षबाट सफलताः मुख्यमन्त्री गुरुङ

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र संघर्षको माध्यमबाट सफलता प्राप्त भएको बताएका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले २४औं जनयुद्ध दिवसका उपलक्ष्यमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान निर्माण गर्नमा जनआन्दोलन र जनयुद्धको एकीकृत तथा निर्णायक भूमिका रहेको बताए । 

उनले भने, ‘तत्कालीन एमालेले जनआन्दोलनबाट मात्र परिर्वतन भयो भन्ने अनि माओवादीले जनयुद्धबाट मात्र भयो भन्नु पुरानो मान्यता हो । नेपालको राजनीतिक परिर्वतन शान्तिपूर्ण र सशस्त्र संघर्षको फ्युजनबाट मात्र भएको हो ।’ 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले राजनीतिक अधिकार प्राप्तिपछि अब स्वाधीन अर्थतन्त्रको विकास गरेर समाजवाद स्थापनामा लाग्नुपर्ने बताउँदै मुलुकका तिनै तहका सरकारको मुख्य मुद्दा समृद्धि भएको बताए । 

‘अहिले जनताको जनवादी व्यवस्थामा छौं, समाजवादमा जान जनवादी व्यवस्थाले लामो समय पार गर्नुपर्दछ,’ उनले भने, ‘सुदृढ र स्वाधीन अर्थतन्त्रको विकास गरेर समाजवादमा जाने हाम्रो लक्ष्य छ ।’ 

मुख्यमन्त्री गुरुङले सरकारलाई काम गर्नका लागि अहिल्यै ठूलो अवसर भएको बताउँदै इतिहास र जनताले कदर गर्ने गरी अर्को निर्वाचनमा योभन्दा ठूलो स्केलमा विजयी हुने गरी काम गर्न दृढतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशन दिए । 



पार्टीका प्रदेश सहइन्चार्ज तथा संघीय संसद्का सदस्य खगराज अधिकारीले केन्द्रमा गुटगत स्वार्थका कारणबाट पार्टीका तत्लो तहको एकीकरणमा ढिलाइ भएको भन्दै अब प्रदेशका गाउँपालिका, नगरपालिका र महानगरमा एकीकरण प्रक्रियाबाट अघि बढाइने बताए । 

प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले विगतमा नेकपा एमाले र माओवादी दुवैले फरक–फरक तरिकाबाट संघर्ष गरेको चर्चा गर्दै अब एकीकृृत भएको नेकपाले जनअपेक्षाअनुरूप काम गर्ने विश्वास व्यक्त गरे । 



जिल्ला पार्टी संयन्त्रका सदस्य दामोदर वैरागी तथा बखानसिंह गुरुङलगायतले अधिकारको आन्दोलनका लागि जनयुद्ध र जनआन्दोलनको महत्त्वपूर्ण भूमिका रेहको चर्चा गरे ।
 

  • प्रकाशित मिति : फागुन १, २०७५ बुधबार १५:२०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया