मधेस प्रदेशसभाका सांसदलाई ज्येष्ठ सदस्य कलवारले शपथ ग्रहण गराउने

मधेस प्रदेशसभाका नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य शारदा शंकरप्रसाद कलवारले शपथ ग्रहण गराउने भएका छन् ।

संसद सचिवालयका सचिव रञ्जित यादवले ऐन, कानुन र संवैधानिक व्यवस्था अनुसार कलवारले प्रदेशसभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको बताएका हुन् ।

सचिव यादवका अनुसार प्रदेश प्रमुख हरिशंकर मिश्रले ज्येष्ठ सदस्य कलवारलाई शपथ ग्रहण गराएपछि मात्रै उनले अन्य प्रदेशसभा सदस्यहरूलाई शपथ गराउनुपर्ने हुन्छ । 

उनले भने, ‘सर्वप्रथम ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखज्यूसँग शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई हामी सूचना गर्नेछौँ । कानुनी प्रावधान निर्वाचन ऐनमा व्यवस्था भएअनुसार उपस्थित सांसदहरूमध्ये ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने भन्ने भएकाले कलवारमार्फत उहाँहरूलाई सपथग्रहण गराउने कार्यक्रम अगाडि बढाइनेछ ।’

सचिव रञ्जित यादवले ज्येष्ठताका आधारमा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपानेले शपथ गराउने तय भएपनि न्यौपाने अस्वस्थ रहेकोले सारदा शंकर कलवारले सांसदहरुको शपथ गराउने तयारी भएको बताए । न्यौपानेको उमेर ७१ वर्ष छ भने शारदा शंकरको उमेर ७० वर्ष रहेको छ । 

न्यौपाने नआउने भएपछि बारा २ को (१) बाट स्वतन्त्र निर्वाचित कलवारबाट नै ज्येष्ठ सदस्यको रुपमा शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको संसद सचिवालयले स्पष्ट पारेको छ ।



प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउनेबारे अहिलेसम्म समय निश्चित नभएको उनले बताए । सचिवालयले अगामी आइतवार सर्वदलीय बैठक बोलाएको छ । सो बैठकबाट शपथ ग्रहणको मिति तय हुने उनले जानकारी दिए । 

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ ६४ जना र समानुपातिकतर्फ ४३ जना गरी १०७ जना सांसदहरु निर्वाचित भएका छन् । उनीहरूलाई शपथ ग्रहण गराएपछि मात्रै संसदीय गतिविधि अघि बढाउनुपर्ने व्यवस्था रहेको पनि संसद सचिवालयले जनाएको छ ।



यस्तो छ मधेस प्रदेशसभाको अंकगणित

प्रदेशसभाको पहिलो कार्यकालको तुलनामा यसपटक दलहरूको अंकगणितमा फेरबदल भएको छ । यसपटक मधेस प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १० वटा दलको प्रतिनिधित्व छ ।
 
यसअघिको कार्यकालमा जसपा पहिलो, नेपाली कांग्रेस दोस्रो, लोसपा तेस्रो, नेकपा एकीकृत समाजवादी पार्टी चौथो, नेकपा एमाले र नेकपा माओवादी पाँचौ दलको रुपमा थियो ।

२०७४ को निर्वाचनमा सबैभन्दा ठूलो दलको रूपमा रहेको जसपाको ३७, नेपाली कांग्रेसको १९, लोसपाको १६, नेकपा एकीकृत समाजवादीको १३, नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीको एकजना सांसद थिए ।
 
२०७४ को निर्वाचनमा ६ वटा दलको प्रतिनिधित्व हुँदा पछि एमाले विभाजन भएपछि ७ दलको प्रतिनिधित्व रहेको थियो । २०७९ को निर्वाचनमा मधेस प्रदेशसभामा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट पाएर पहिलो दल बनेको छ ।

यस्तै, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट पाएर दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ सिट पाएर तेस्रो, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दल बनेको छ ।

यस्तै, लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९ सिट पाएर पाँचौँ, माओवादी केन्द्र प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सिट पाएर छैठौं तथा एकीकृत समाजवादी प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट पाएर सातौँ दल बनेको छ । 

मधेस प्रदेशसभामा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट पाएका छन् भने यसपटक ६ जना स्वतन्त्र उम्मेदवारहरू पनि निर्वाचित भएका छन् ।

  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १७:४९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया